बिलखबन्दमा बाबुराम

हिमाल प्रेस २८ असार २०८० ११:३३
46
SHARES
बिलखबन्दमा बाबुराम

काठमाडौँ-   पछिल्लो समय नेपाली राजनीतिमा एकपछि अर्को झन्झट व्यहोरिरहने नेतामध्येमा पर्छन् डा. बाबुराम भट्टराई।

२०७२ को संविधान जारी भएपछि माओवादी छाडेर वैकल्पिक शक्ति बनाउन अघि बढेका भट्टराईले धेरैतिर चहारे। तर उनका लागि कतै फलिफाप भएन।

उनी फेरि माओवादीकै वरिपरि आउन बाध्य भएका छन्। तर माओवादीले पनि नपत्याएपछि उनी रनभुल्लमा छन्। भट्टराई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विचार नमिलेर बाहिरिएका थिए। अहिले पनि माओवादीमा उनै प्रचण्ड अध्यक्ष छन्।

माओवादीबाटै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म बनेका भट्टराई वैकल्पिक शक्ति निर्माणमा लागेपछि बिस्तारै राजनीतिक रूपमा ओरालो लागेका हुन्। वैकल्पिक शक्तिका रूपमा स्थापित गराउन उनकै अगुवाइमा गठन गरिएकाे नयाँ शक्ति पार्टीले कुनै दिशा पकड्न सकेन।

नयाँ शक्ति विफल भएपछि भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीसँग एकता गरे। उनी मधेशी दलसँग निकट हुनुको प्रमुख कारण थियो पहिचानका नाममा राजनीति गर्नु। तर पहिचानको राजनीति टिकाउ नहुने कुरा भट्टराईले आफूलाई मधेशी दलसँग सम्बन्ध दिगो बनाउन नसकेबाट स्पष्ट हुन्छ। संघीय समाजवादी महन्थ ठाकुरको पार्टीसँग एकता भएपछि भट्टराई झन् ओझेलमा परे।

दल फुटाउने र जुटाउने मधेश केन्द्रित दलको प्रवृत्ति नै हो।  उपेन्द्र र महन्थ पनि सँगै बस्न सकेनन्। उपेन्द्रले महन्थहरूलाई टिक्न नदिएपछि पार्टी विभाजित भयो। लोसपा नामको पार्टी लिएर महन्थ र राजेन्द्र महतो अलग भए।

संघीय समाजवादीमा पनि भट्टराईलाई सहज भएन। उपेन्द्रसँग टकराव बढ्दै गयो। उपेन्द्रसँग असन्तुष्ट नेताले छुट्टिन साथ दिने आश्वासन दिएपछि बाबुराम हौसिए। तर अशोक राई, प्रदीप यादवजस्ता नेतालाई उपेन्द्रले नै ताने। अनि भट्टराई एक्लिए। त्यसपछि भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेर सक्रिय हुन खोज्दैछन्। भट्टराईले आफूलाई वैकल्पिक धारको भन्न भने छाडेनन्।

मंसिर ४ को निर्वाचनमा बाबुराम माओवादी केन्द्रसँगै तालमेल गर्ने अवस्थामा आइपुगे। माओवादीकै चुनाव चिह्नबाट उनले केही नेतालाई चुनावी मैदानमा उतारे। उनी आफू भने चुनावी प्रतिस्पर्धाबाट अलग भए। यति बेला बागमती प्रदेशसभामा बाबुरामका एक सा‌ंसद छन् भने संघीय संसद्‌मा उनले अघि सारेका महिन्द्र राय यादव छन्। यादव वर्तमान सरकारका खानेपानीमन्त्री हुन्।

चुनावताका निकै राम्रो सम्बन्ध भए पनि अहिले भट्टराई र प्रचण्डबीच दूरी बढेको छ। सोही कारण आफैँले परिकल्पना गरेको समाजवादी मोर्चामा भट्टराई परेनन्। मोर्चामा माओ‌वादी, नेकपा एकीकृत समाजवादी, जनता समावादी र विप्लव नेतृत्वको नेकपा छन्।

प्रधानमन्त्री प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव चिढिएपछि भट्टराई मोर्चामा पर्न नसकेको नेताहरू बताउँछन्। सोही कारण बाबुराम दोधारमा छन्।

दुई नेताबीच सम्बन्ध चिसिएपछि भट्टराई नै अप्ठ्यारोमा परेको उनी निकट नेताहरूको बुझाइ छ। माओवादी निकट स्रोतका अनुसार मोर्चाको परिकल्पनाकार आफू भएकाले संयोजक पाउनु पर्ने भट्टराईको अडान थियो। प्रचण्डले संयोजक पद दिन चाहेनन् भने उपेन्द्र पनि मानेनन्। यसैले भट्टराई मोर्चामा रहन सकेनन्।

‘मोर्चा बनाउँदा मलाइ सोधिएन। असार १ मा मैले नै प्रचण्डलाई फोन गरेर मोर्चाका बारेमा चासो राखेकी थिए। उहाँले सल्लाह हुँदैछ भन्नुभयाे। तर असार ४ मा नै मोर्चा घोषणा गर्नुभयो।’

भट्टराईले भने,’यो गठबन्धन जम्मा सत्ताका लागि जस्तो देखिएको छ। तर हामीले वैकल्पिक मोर्चा बनाउन खोजेका थियौँ।’

संगठन विस्तारमा सक्रियता

अब बाबुराम भट्टराई  नेपाल समाजवादी पार्टी(नेसपा) को संगठन निर्माण र विस्तार अभियानमा जुटेका छन्। अभियान  साउन १ गतेदेखि छ महिनासम्म चल्ने पार्टीले जनाएको छ।

नेसपाले जिल्लाजिल्लामा वृक्षरोपण गर्दै संगठन विस्तार अभियान सुरु गर्न लागिएको जनाएको छ। साथै प्रदेशस्तरीय प्रशिक्षण बैठकसमेत गर्ने निर्णय भएको छ। कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए। अभियानका लागिष विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका नेताहरू चयन भएका छन्।

कोशीमा हिसिला यमी, मधेशमा अध्यक्ष महिन्द्र यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर साह र सुदूरपश्चिममा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ। अभियानको प्रभावकारिता अनुगमन गर्न समिति गठन गरिएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको हो।

वैकल्पिक मोर्चा निर्माणको पहल कायमै

संगठन विस्तार अभियानसँगसँगै भट्टराई वैकल्पिक मोर्चा बनाउने गृहकार्यमा पनि जुटेको उनी निकट नेताहरू बताउँछन्।

यस क्रममा उनले प्रभु साह नेतृत्वको आमजनता पार्टी, लोसपाका नेताहरूसँग छलफल गरेका छन्। माओवादीमा रहँदा प्रभु साह भट्टराई गुटमा थिए। साह पनि एक्लिएका कारण भट्टराईसँग एकता गर्ने प्रयासमा जुटेको उनी निकट नेताहरू बताउँछन्।

लोसपाले यसबारे औपचारिक रूपमा केही भनेको छैन। तर मधेशमा अस्तित्व रक्षाका लागि पनि कुनै न कुनै राजनीतिक शक्तिसँग मोर्चा बनाउन तयार रहेको लोसपाका नेताहरू बताउँछन्।

प्रचण्डले गुन नतिरेपछि…

मंसिरको चुनावमा  माओवादी अध्यक्ष प्रचण्डले गोरखाबाट चुनाव जित्नुमा भट्टराईको ठूलो भूमिका छ।  जुन भट्टराई आफैँले चुनाव जित्दै आएको क्षेत्र हो। प्रचण्ड अहिले प्रधानमन्त्री छन्। बाबुराम भने प्रतिनिधिसभा सदस्यसमेत छैनन्।

बाबुराम आफू पछि हटेर राजनीतिमा छोरी मानुषीलाई स्थापित गर्ने योजनामा थिए। सोही कारण भट्टराई आफूले चुनाव लडेनन्। काठमाडौँ- ७ बाट माओवादीकै चुनाव चिह्न लिएर उठ्दा पनि मानुषीको संसद् प्रवेश गर्ने सपना पूरा भएन। मानुषीले चुनाव जितेकी थिइन् भने भट्टराई अब दोस्रो पुस्ता उदाइसकेको छ भनेर भाषण गर्दै हिँड्थे होला।

भट्टराई आफू सांसद त बनेन् तर छोरीलाई पनि सक्रिय राजनीतिमा ल्याउने प्रयत्नमा सफल भएनन्। प्रचण्डकै कारण समाजवादी मोर्चामा नअटेपछि भट्टराईले आफू निकट नेताहरूसँग भन्न थालेका छन्- प्रचण्डलाई गुन लगाएकै हुँ। तर गुन नदेखेपछि कसको के लाग्छ र?

नेसपाका महेन्द्र राय यादव प्रत्यक्ष चुनाव जित्ने मधेश प्रदेशकै एक्ला माओवादी सांसद हुन्। उनलाई भट्टराईकै जोडमा अहिले खानेपानीमन्त्री बनाइएको छ। तर प्रचण्डले उनको कार्यशैली चित्त बुझाएका छैनन्।

प्रकाशित: २८ असार २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =