दुर्गा प्रसाईंलाई ‘३० करोड रुपैयाँ चाहियो नभए कात्रो ठिक पार्नु’ भन्ने युवक सीआईबीको फन्दामा

हिमाल प्रेस २६ असार २०८० १५:५७
322
SHARES
दुर्गा प्रसाईंलाई ‘३० करोड रुपैयाँ चाहियो नभए कात्रो ठिक पार्नु’ भन्ने युवक सीआईबीको फन्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्क्याउँदै पैसा माग्ने एक युवकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। प्रसाईंलाई ‘३० करोड रेडी बनाएर बस नत्र कात्रो खोजेर राख’ भनेर धम्की दिने खोटाङ रावाबेँशीका रमेश गुरुङ (४२)लाई सीआईबीको टोलीले काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको हो।

गुरुङलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले पनि पुष्टी गरेको छ। उता प्रसाईंले पनि ३० करोड मागेको व्यक्तिलाई पाँच करोड लिन बोलाउँदा पक्राउ परेको जानकारी दिए।

‘यसले मलाई असार १३ गते फोन गरेको थियो। मलाई ३० करोड चाहियो हैन भने तलाई मारिदिन्छु कात्रो ठिक पार भनेको थियो,’ प्रसाईंले हिमालप्रेससँग भने,’३० करोड मागेको थियो कुरा गर्दागर्दा पाँच करोड दिन्छु लिन आइज भनेर आज बिहानलाई समय दिएको थिएँ। ऊ आयो अनि सीआईबीलाई पनि पहिल्यै खबर गरेको थिएँ त्यही मौकामा पक्राउ पर्‍यो।’

प्रसाईंले असार १३ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आफूलाई धम्की आएको जानकारी दिएका थिए। प्रसाईंले प्रहरी वृत्त नयाँ बानेश्वरमा पनि आफूलाई धम्की आएको निवेदन दिएका थिए।

‘मलाई धम्की आएपछि मैले यसलाई सिरियस नै लिएँ। हुन त यसलाई कसैले पैसा माग भनेर लगाएको पनि हुन सक्छ जे भए पनि यो राम्रो भएन भनेर मैले सीडीयोलाई गएर जानकारी गराएँ,’ उनले भने, ‘नयाँ बानेश्वर प्रहरी कार्यालयमा पनि मैले जानकारी गराएँ। प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको थियो। लगातार मलाई फोन गर्ने ३० करोड चाहियो भनिराखेको थियो। आज कतार भिसा सेन्टर महाराजगञ्ज अगाडि समातियो।’

पाँच करोड रुपैयाँ लिने आशमा गुरुङ पठाओ चढेर महाराजगञ्ज पुगेका थिए। सीआईबीले यसबारे थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित: २६ असार २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =