प्रतिनिधिसभाको बैठक बस्‍दै, एमाले भन्छ- प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म अवरोध रहन्छ

हिमाल प्रेस २५ असार २०८० ६:५५
10
SHARES
प्रतिनिधिसभाको बैठक बस्‍दै, एमाले भन्छ- प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म अवरोध रहन्छ फाइल तस्बिर।

काठमाडौँ– सोमबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बैठक बस्ने कार्यसूची छ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान राखेको छ।

प्रधानमन्त्री प्रचण्ड, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार (हिजो) सिंहदरबारमा बसेको बैठकले संसद्‍को अवरोध हटाउनेबारे छलफल भएको थियो।

‘उक्त छलफलमा प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिने र स्पष्टीकरण दिने बताएपछि एमाले संसद् बैठक चलाउन सहमत भएको थियो। तर प्रधानमन्त्री नै संसद् बैठकमा प्रस्तुत हुन चाहनु भएन,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले हिमाल प्रेससँग भने, ‘प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म एमालेको अवरोध कायमै रहन्छ।’

यता माओवादी केन्द्रले भने एमाले अध्यक्ष ओलीले सिंहदरबारमा भएको सहमति पालना नगरेको आरोप लगाएको छ।

‘सिंहदरबारमा सहमति गरेर निस्केको केही बेरमै ओलीले फोन गरेर संसद्‍ बैठकमा नआउने भन्नुभयो। यसपछि आइतबारको बैठक स्थगित भएको हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री बन्न भारतको हात हुने आशयको अभिव्यक्ति दिएपछि एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आएका छन्।

एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा आइतबारको बैठक सोमबारलाई सारेको बताए।

‘सिंहदरबार छलफलको निर्णयअनुसार संसद् बैठक सञ्चालन गर्न हामी तयार थियौं। तर प्रधानमन्त्रीले नै सोमबारसम्म बैठक स्थगित गर्नु भनेर सभामुखलाई आग्रह गर्नु भएछ,’ गिरीले भने।

प्रकाशित: २५ असार २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =