बाढीले ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

हिमाल प्रेस २४ असार २०८० १६:४८
10
SHARES
बाढीले ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बेनी– बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ।

संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको आयोजनाको बाँधतर्फ बाढीले क्षति पुर्‍याएको छ। असार २१ गते आएको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए।

उनका अनुसार केही निर्माण सामग्री र आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ।

ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक अवरुद्ध भएको छ। यसबाट निर्माण सामग्री ढुवानीमा समस्या भएको छ।

बाँध र विद्युत् गृहको निर्माणमा १३० मजदुर काम गर्दै आएका छन्। सन् २०२४ जुलाईसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइए पनि अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए।

हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ। फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहेको विद्युत् गृहसम्म ल्याउन २७१५ मिटर सुरुङमार्ग खन्नुपर्नेछ।

हालसम्म २००० मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको प्रारम्भिक लागत ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

प्रकाशित: २४ असार २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =