लुम्बिनी : एमाले सांसदहरूको विरोधकै बीच अघि बढ्यो बजेटमाथिको सैद्धान्तिक छलफल

हिमाल प्रेस १८ असार २०८० १८:४७
10
SHARES
लुम्बिनी : एमाले सांसदहरूको विरोधकै बीच अघि बढ्यो बजेटमाथिको सैद्धान्तिक छलफल

लुम्बिनी- लुम्बिनी प्रदेशसभामा एमाले सांसदहरूको विरोधका बीच सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफललाई अगाडि बढाएको छ।

विपक्षी एमालेले संसद्‍मा बजेटमाथिको छलफल हुन नदिने अडान लिएपछि संसद्मा विरोधका बीच सोमबार छलफललाई अगाडि बढाएको हो।

सोमबार दिउँसो १ बजे बसेको बैठकमा विपक्षी नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकारले निर्देशनालय खारेज गरेको निर्णय पुनर्विचार गर्नुपर्ने, बहुवर्षीय योजनामा बजेट कटौती गरेको र नीतिगत सहमति कार्यान्वयन नगरेको भन्दै संसद् चल्न नदिने बताए।

सभामुख तुलाराम घर्तीले छलफल अगाडि बढाउन पटक–पटक आग्रह गर्दा पनि एमालेका सांसदहरूले उठेर विरोध गरेपछि सहमतिका लागि १ घण्टाका लागि बैठक स्थगित गरेका थिए। तर सहमति नभएपछि दोस्रोपटक बसेको बैठकमा सभामुख घर्तीले विपक्षी एमालेका सांसदहरूको विरोधका बीच बजेटमाथि छलफल सुरु भएको थियो।

छलफलमा कांग्रेस सांसद बैजनाथ कलवारले सरकारले ल्याएको बजेटबारे संसद्‍मा छलफल हुन नदिएर प्रतिपक्षीले गैरसंसदीय काम गरेको बताए। उनले प्रतिपक्षीले बजेटका बारेमा छलफलमा भाग लिएर असहमति जनाउन सक्ने बताए।

त्यस्तै बजेटमाथि छलफलमा भाग लिदै सांसद वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले सरकारले प्रतिपक्षीलाई मान्य हुने गरी बजेट ल्याउन नसक्ने बताउँदै विगतलाई स्मरण गर्न आग्रह गरे। असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो।

बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जबाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए। उनले बजेटका बारेमा उठेका सवालमा सरकार सकारात्मक रहेको बताए।

यस्तै मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गरे। प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: १८ असार २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =