धानको अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा कर्णालीको मार्सी

रमा केसी १७ असार २०८० १८:४४
42
SHARES
अन्तर्राष्ट्रिय बजारमा कर्णालीको मार्सी धान रोपाइँमा व्यस्त जुम्लाका किसान। तस्बिर सौजन्य : डीबी बुढा

जुम्लाका किसान यतिखेर मार्सी धानको गोडमेलमा व्यस्त छन्। संसारको सर्वाधिक उचाइमा फल्ने धानको गोडमेल गर्न किसानलाई भ्याइनभ्याई छ। मार्सी धानको चामलले बजार पाएपछि त्यहाँका किसान त्यसको उत्पादनप्रति आकर्षित भएका हुन्। यहाँ उत्पादित मार्सी चामलको माग देशभर बढिरहेको छ।

जुम्ला, पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा मार्सी धान फलाउनका लागि प्रख्यात छ। काली मार्सी धान समुद्री सतहदेखि २८५० मिटर उचाइसम्म उत्पादन हुँदै आएको छ। धानखेतीका हिसाबले संसारको उच्च भागमा पर्ने जुम्लाको पातारासी गाउँपालिकाको छुमगाउँस्थित छुमचौर जिउलोमा मार्सी धान फल्ने भएकोले यसले संसारभरि चर्चा पाएको छ।

हाल जुम्लामा २ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। त्यसमध्ये एक हजार एक हेक्टर जमिनमा काली मार्सी धानखेती गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार १ हजार ४ सय ५० हेक्टर जमिनमा चन्दननाथ १ र ३ जातको धानबाली लगाइएको छ।

‘काली मार्सी धान प्रतिहेक्टर दुई सय क्विन्टलका दरले एक हजार हेक्टर क्षेत्रफलमा कुल ५० हजार ५ सय क्विन्टल उत्पादन हुन्छ,’ अधिकारी भन्छन्, ‘पछिल्लो समयमा काली मार्सी चामलको बजार माग र मूल्य बढेको छ। त्यसैले किसान यसतर्फ आकर्षित हुँदा विगतभन्दा यस वर्ष काली मार्सी धान खेतीको क्षेत्रफल बढेको हो।’

एक दशकसम्म ब्लास्ट रोगले दुःख दिएपछि अहिले बिउको उपचार गरिएको र त्यसको प्रभाव कम हुँदै जाँदा यसको खेतीमा किसानको आकर्षण बढेको उनको भनाइ छ।
काली मार्सी धान खेतीको तयारी चैत १२ देखि गरिन्छ। जसलाई ‘बारुवा’ भनिन्छ। जुम्ली मान्यताअनुसार त्यो दिन काला पहाडबाट नफर्कने जोकोहीको मृत्यु भयो भन्ठान्ने प्रचलन आजपर्यन्त छ।

१२ गते केलाएर असल बिउ सकेसम्म अल्लो वा भाँगोबाट बुनेको बोरोमा हालेर चार दिनसम्म पानीमा भिजाइन्छ। चैत १६ मा यसलाई पानीबाट झिकेर बिउ घरको मैडो (चुलोनजिक बस्ने ठाउँ) मा फेरुवा (बाख्राको बग्रालबाट बुनेको कपडा) मा न्यानो पारी ढाकेर राखिन्छ। जुन दिनलाई ‘सोरुवा’ भनिन्छ।

न्यानो पारेर राखेको मार्सी धानको बिउ पुनः २० गते खोलिन्छ। त्यतिबेलासम्म त्यसमा टुसा उम्रिसकेको हुन्छ। टुसा उम्रेको बिउलाई तयार पारेको ठाउँमा किसानले छर्छन्। त्यही दिनलाई ‘बिसुवा’ भनिन्छ। त्यस दिन पुवा, सेल रोटी, खीरलगायत मीठामीठा परिकार खाइन्छ।

वैशाखको दोस्रो सातादेखि राखेर असार १० सम्म मैजारो फाल्ने र कात्तिकमा भण्डारण गरिने मार्सी धानको चामल फिक्का रातो हुन्छ। पकाउँदा भात अरूभन्दा गिलो हुन्छ। साह्रोभन्दा अलि गिलोमा मीठो हुन्छ। यसमा प्रोटिनको मात्रा बढी, कार्बोहाइड्रेड, भिटामिन, फ्याटलगायत तत्त्व पाइन्छन्। खाँदा आडिलो र चाँडै भोक नलाग्ने हुन्छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारी पछिल्ला केही वर्षमा यसको बजार फराकिलो हुँदै गएको बताउँछन्।

‘स्वास्थ्यवर्धक हुने भएकाले सहरबाट धेरैले मगाउँछन्,’ उनी भन्छन्, ‘यो स्वादिष्ट पनि हुन्छ। पछिल्ला वर्षमा यसको बजार फराकिलो बन्दै गएको छ।’ मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिने रैथाने बाली मार्सी धान संरक्षण, प्रवद्र्धन र संवद्र्धनमा सरकारले उच्च पहल गर्नुपर्ने अधिकारी बताउँछन्।

अहिले यसको बजार मूल्य जुम्लामा प्रतिकेजी १ सय ७० रुपैयाँ, सुर्खेतमा दुई सय, काठमाडौँलगायत देशका विभिन्न सहरमा प्रतिकेजी २ सय ५० देखि तीन सय रुपैयाँसम्म भएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डे बताउँछन्।

‘हामीले अहिले ३० लाख रुपैयाँको मार्सी चामल संकलन गरेका छौँ,’ पाण्डे भन्छन्, ‘चामल भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानसम्म पठाउने गरेका छौँ।’ बजार माग निकै बढेको तर बर्खायाममा बाटोका कारण आपूर्ति गर्न कठिन हुने उनको भनाइ छ।  ‘अन्तर्राष्ट्रिय बजारमा मार्सी प्रतिकेजी २४ देखि २५ सय रुपैयाँसम्म बिक्री भइरहेको सुनेका छौँ,’ उनी भन्छन्।

काली मार्सी चामलले अन्तर्राष्ट्रिय बजार लिइसकेको छ। यसले भाषा, साहित्य, कला, संस्कृतिको उद्गमस्थल जुम्ला सिञ्जा, तातोपानी, गुडिखोला लाम्रा, कर्णाली र सिङ्गो नेपाललाई विश्वमाझ चिनाउन ठूलो योगदान पुर्‍याएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारी बताउँछन्। ‘यसको तत्व र महत्त्व दुवैलाई विश्वबजारले बुझिसकेको छ,’ उनी भन्छन्।

किसानको मेहनतलाई लागतसँग जोडेर उच्च मूल्यमा बिक्री हुन थालेपछि काली मार्सी धान उत्पादनमा किसान पनि उत्साहित हुँदै गएका छन्। उच्च मूल्यको रैथाने खाद्य बालीका रूपमा मार्सी धानलाई लिने गरिन्छ। कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने अधिकांशले कोसेलीका रूपमा मार्सी चामल बोक्ने गर्छन्।

बजारको मागअनुसार मार्सी धानको उत्पादन बढाउन र संरक्षण गर्नतर्फ नेपाल सरकारले बेलैमा ध्यान दिनुपर्ने किसान विष्णु बुढा बताउँछिन्। ‘बजारमा मार्सीको माग बढेको छ,’ उनी भन्छिन्, ‘त्यसैले यसको उत्पादन वृद्धिमा मात्र भई संरक्षणमा पनि सरकारको ध्यान जानुपर्छ।’

धानमा जोडिएको आर्थिक विकास

प्रकाशित: १७ असार २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =