आवरण

धानमा जोडिएको आर्थिक विकास

मस्त केसी १७ असार २०८० ११:४०
34
SHARES
धानमा जोडिएको आर्थिक विकास धान रोपाइँमा व्यस्त जुम्लाका किसान। तस्बिर सौजन्य : डीबी बुढा

कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान रहेको धानको उत्पादन र उत्पादकत्वले मुलुकको समग्र अर्थतन्त्रको आकार वद्धिमा भूमिका खेल्दै आएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण छ। यसकारण कृषिलाई नेपाली अर्थतन्त्रको आधार स्तम्भका रूपमा बुझिन्छ।

कृषिको योगदानमा धानखेतीको बलियो हिस्सा छ। नेपालको जीडीपीमा धानको योगदान ५ प्रतिशत छ। यसकारण मुलुकको अर्थतन्त्रको आकार वृद्धिमा धानखेती र त्यसको उत्पादकत्वको ठूलो भूमिका छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब ३१ लाख हेक्टर जमिनमा खेती गरिन्छ। जसको आधा क्षेत्रफलमा धानखेती हुन्छ। नेपालमा कुल धानखेती हुने क्षेत्रमध्ये अधिकतम तराईमा छ। कुल उत्पादनको करिब ७० प्रतिशत धान तराईका जिल्लामा फल्छ।

मन्त्रालयको तथ्यांकअनुसार कुल भूभागको ४२ प्रतिशत क्षेत्रफल ओगट्ने पहाडमा २६ प्रतिशत धान उत्पादन हुन्छ। हिमाली भूभागमा भने ४ प्रतिशत।  नेपालमा प्रतिव्यक्ति १३७.५ किलोग्राम चामल उपभोग हुन्छ। कुल अन्न खपतमा चामलको हिस्सा ६७ प्रतिशत छ। किनभने धेरै मानिसले कोदो, फापर, जौ, कागुनो, लट्टेजस्ता रैथाने पोषक अन्न फलाउन र खान छाडेका छन्। मकैको उपभोग पनि पछिल्ला वर्षमा घट्दै गएको छ।

बढ्दो आयात

आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धानखेती भएको थियो। जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ०.२६ प्रतिशतले बढी हो। क्षेत्रफल बढे पनि ०७७/७८ को तुलनामा २०७८/७९ मा उत्पादकत्व ७.८ प्रतिशतले घटेको छ।

२०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान फलेको छ। यसमा ९३ प्रतिशत हिस्सा बर्खे धानको छ भने बाँकी चैते धानको। पछिल्लो २० वर्षमा ०.३६ प्रतिशतले धानखेतीको क्षेत्रफलमा कमी आएको छ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रमुख खाद्यान्न आयातमा ३० प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको थियो। भन्सार विभागको तथ्यांकअनुसार सरकारको उक्त लक्ष्य पूरा भएको छ। तर त्यसको वास्तविकता अर्कै छ।

अर्थतन्त्रमा देखिएको बाह्य प्रभाव, डलर सञ्चितिको खस्किँदो अवस्था, मूल्यवृद्धि र रूस–युक्रेन युद्धका कारण विश्वको खाद्यान्न बजार प्रभावित बन्यो। धेरै देशले आफूलाई साँचेर खाद्यान्नको जोहो गरे। निर्यातमा प्रतिबन्ध लगाए। भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो। यसको असर नेपालमा पनि देखियो। समग्र खाद्यान्न आयात घट्यो।

खाद्यान्न आयातमा कमी आए पनि धान/चामलको आयात अपेक्षित घटेको छैन। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४८ अर्बको धान, चामल आयात भएको थियो।

जेठसम्म १८ अर्ब ९० करोड रुपैयाँको धान आयात भएको छ। यही अवधिमा १४ अर्ब ७२ करोडको चामल भित्रिएको छ। ठूलो आयातमा पैसा बिदेसिँदा मुलुकको व्यापार घाटामा धान/चामलको पनि उत्तिकै योगदान देखिन्छ।

उखु, मकैपछि विश्वमा सबैभन्दा बढी उत्पादन हुने कृषि बाली धान हो। छिमेकी भारत र चीनमा करोडौँ टन धान उत्पादन हुन्छ। यी दुई देशले अर्बौँ डलर बराबरको धान निर्यात गर्छन्।

भारतले मात्रै १०० भन्दा बढी मुलुकमा धान निर्यात गर्दै आएको छ। भारतले धान निर्यात गर्ने मुख्य देशको ८ औँ नम्बरमा नेपाल समावेश छ।

जनसंख्या वृद्धि र कृषिमा आश्रित घट्दो जनसंख्याले धानलगायत मुख्य बालीको आयात बर्सेनि उकालो लागेको जानकारहरू बताउँछन्। कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेवप्रसाद पौडेल खाने बानीमा आएको परिवर्तन, मसिना र बास्नादार चामलप्रति उपभोक्ताको रुचिलगायत कारणले पनि धान/चामलको आयात बढेको बताउँछन्।

‘बजारको सहज पहुँच, क्रयशक्तिमा आएको सुधार, सहरकेन्द्रित बसाइँसराइ जस्ता कारणले धान/चामलको उपभोग बढाएको छ,’ उनी भन्छन्, ‘कृषिको न्यून प्रतिफल, उच्च उत्पादन लागतलगायतले पनि धान उत्पादक घटेपछि आयात बढ्ने नै भयो।’

किसानलाई सधैँ सिँचाइ र मलको समस्या

जेठोबुढो ‘ब्रान्डिङ’ गर्दै पोखरा महानगर

मर्कामा ‘अन्नभण्डार’ का किसान

अन्तर्राष्ट्रिय बजारमा कर्णालीको मार्सी

धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली

 

प्रकाशित: १७ असार २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast