तनहुँको छिम्केश्‍वरी मन्दिर प्यागोडा शैलीमा निर्माण सुरु

हिमाल प्रेस १६ असार २०८० ७:५६
8
SHARES
तनहुँको छिम्केश्‍वरी मन्दिर प्यागोडा शैलीमा निर्माण सुरु

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको छ। आँबुखैरेनी गाउँपालिका-५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो।

छिम्केश्वरी समुद्र सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छ। विगत २ वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

‘पित्तलले छाएर मन्दिरलाई आकर्षण बनाउन लागिएको हो,’ उनले भने।

भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ। चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। छिम्केश्वरी मन्दिर पुनःनिर्माणका लागि करिब ८० लाख खर्च भइसकेको छ।

गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिरनजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ। ७ देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ।

७ देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन्।

यस्तै साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखैअगाडि हेर्न सकिन्छ।

महाभारत शृंखलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ। धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्षको चुमानको भनाइ छ।

‘छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्ध रूपमा लागेका छौँ। आगामी आर्थिक वर्षको बजेटमा पनि छिम्केश्वरीको विकासका लागि ५० लाख बजेट विनियोजन गरिएको छ,’ उनले भने।

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ। आव ०७५/७६ मा ४१ लाख ६३ हजार ७ सय ६ को लागतमा चार सय ८६ मिटर ढुंगाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा ३५ लाख ९९ हजार १ सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुंगाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ।

छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी भइरहेको छ। पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो। हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ।

यसअघि १ हजार २ मिटर खण्ड कालोपत्र भइसकेको छ। कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो। छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ।

छात्रवृत्ति प्रदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि १ छात्रलाई छात्रवृत्तिस्वरूप ११ लाख ६६ हजार सहयोग गरेको छ।

आँबुखैरेनी गाउँपालिका-१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत ११ लाख ६६ हजार सहयोग गरेको हो।

उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार दवाडीलाई हस्तान्तरण गरे। गाउँपालिकाले दवाडीलाई कूल ३५ लाख प्रदान गर्नेछ। पहिलो किस्ताबापतको रकम शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष चुमानको भनाइ छ।

गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानको भनाइ छ।

‘अध्ययनपश्चात् अनिवार्य रूपमा २ वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ,’ उनले भने।

गाउँपालिकाले गत मंसिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ।

छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले जानकारी दिए।

छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको उनले बताए।

प्रकाशित: १६ असार २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =