संसदीय समितिको नेतृत्व चाँडो टुंग्याउन प्रमुख तीन दल प्रतिबद्ध

हिमाल प्रेस १९ असार २०८० १२:५४ | Tuesday, July 4, 2023
संसदीय समितिको नेतृत्व चाँडो टुंग्याउन प्रमुख तीन दल प्रतिबद्ध प्रमुख दलका शीर्ष नेताहरूसँग भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सभामुख देवराज घिमिरे। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- प्रमुख दलका शीर्ष नेताहरू संसदीय समितिको नेतृत्व चयन प्रक्रिया छिटो टुंग्याउन प्रतिबद्ध भएका छन्। सभामुख देवराज घिमिरेसँग मंगलबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

छलफलपछि सभामुख घिमिरेले सञ्चारकर्मीसँग भने, ‘‘मूलतः संसदीय गतिविधि प्रभावकारी पार्नका लागि छलफल भयो। उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ।’ यसैगरी शीर्ष नेताहरूले समितिको नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको घिमिरेले जानकारी दिए। उनले भने, ‘अब हामी नेतृत्व चयनको प्रक्रियामा लाग्छौँ।’

घिमिरेले दलहरूसँग संसदीय गतिविधि स्तरीय, प्रभावकारी र गतिशील बनाउने विषयमा कुराकानी भएको जानकारी दिए। उनले दलका नेताहरूलाई संसदीय समितिको नेतृत्व तत्काल अन्त्य गर्न आग्रह गरेका थिए। छलफलमा उनले भनेका थिए, ‘चुनाव गर्ने कि के गर्ने हो गरौँ। नत्र मैले स्टेप चाल्नुपर्छ। त्यो काम मेरो मात्र होइन।’

प्रतिनिधिसभाका १० विषयगत समिति गत वैशाख १५ गते गठन भएको थियो। समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेतासँग परामर्श गरेका हुन्।

छलफलमा सहभागी कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ गुरुङले नेताहरूबी संसदीय समितिका सभापति छिटोभन्दा छिटो  चयन गर्ने सहमति भएको जानकारी दिए। राजनीतिमा देखिएका विकृति, विसंगति, कमीकमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि गुरुङले बताए।

उनले भने, ‘ शीर्ष नेताहरूबीच संसदीय समितिहरुको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ।’ मन्त्री गुरुङले बैठकमा कोशी प्रदेश सरकारको नेतृत्वबारेमा पनि छलफल भएको जानकारी दिए।

प्रकाशित: १९ असार २०८० १२:५४ | Tuesday, July 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast