विवेकशील साझाले सार्वजनिक गर्‍यो ‘मानसरोवरदेखि गंगा मैदानसम्म’ समेटिएको नक्सा

हिमाल प्रेस १५ असार २०८० १६:३९
52
SHARES
विवेकशील साझाले सार्वजनिक गर्‍यो ‘मानसरोवरदेखि गंगा मैदानसम्म’ समेटिएको नक्सा

काठमाडौँ- विवेकशील साझा पार्टीले ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक गरेको छ। अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावना आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन यस्तो मानचित्र (नक्सा) सार्वजनिक गरिएको पार्टीले जनाएको छ। राजधानीमा शुक्रबार आयोजित समारोहमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालगायतले मानचित्र सार्वजनिक गरेका हुन्।

मानचित्र नेपालको सुगौली सन्धिअगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर निर्माण गरिएको हो। यसमा सगरमाथादेखि बौद्ध स्तूप, पशुपतिनाथ, काँक्रेविहारलगायतका पुरातात्त्विक महत्त्वका सम्पदा छन्।

गौरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदानसम्म’ का धरोहरलाई नक्सांकन गरिएको छ। यस्तै नक्सामा धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्त्विक सम्पदालाई झल्काइएको पार्टीले जानको छ।

छिमेकी भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभाग राखेर बनाइएको ‘अखण्ड भारत’ को नयाँ नक्साप्रति नेपाल सरकारले औपचारिक खण्डन गरेको छैन।

पार्टीले विश्व सम्पदा सूचीमा सुचीकृत सार्वभौम नेपालका महत्त्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’ को नक्सा संसद् भवनमा राख्ने भारतीय हेपाहा प्रवृत्तिको भर्त्सना गरेको छ। विवेकशील साझाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘भारत अतिक्रमित नेपालको भूमि लिपुलेक-लिम्पियाधुरा-कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भूभाग भारतले छोड्नुपर्ने विवेकशील साझा पार्टीको पूर्ववत् अडानकावीच साांस्कृतिक मानचित्र प्रकाशनमा आएको हो।’

विवेकशील साझा पार्टी ले ‘ऐतिहासिक नेपालको सांस्कृतिक मानचित्र’लाई संसद्, प्रशासनिक र सार्वजनिक कार्यालयमा राखेर ऐक्यबद्धता जनाउन सरोकावाला सबैलाई अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =