कोशी प्रदेश : विश्वासको मतका लागि प्रस्ताव पेस

हिमाल प्रेस १४ असार २०८० २१:३०
4
SHARES
कोशी प्रदेश : विश्वासको मतका लागि प्रस्ताव पेस

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बिहीबार बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८(४) बमोजिम सो प्रस्ताव पेस गरेका हुन्।

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री कार्कीले गत पुस २५ गते निर्माण भएको वर्तमान सरकार बनेको केही समयपछि नै विश्वासको मत लिनुपर्ने बाध्यता आउनु राष्ट्रिय राजनीतिमा नराम्रो असर पर्ने बताए। उनले मुलुकको आर्थिक स्थितिलाई सुदृढ एवं बलियो बनाउन पनि स्थिर सरकारको आवश्यकता रहेकाले यही सरकारलाई दिगो बनाउन सबै राजनीतिक दलसँग विश्वासको मत मागे।

मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा बनेको सरकारले ५२औँ दिनमै प्रदेशको नामकरण गर्न सफल भएको उल्लेख गर्दै मुलुकमा असल संस्कृति बसाल्न सरकारलाई विश्वासको मत दिनुपर्ने जिकिर गरे।

उनले सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत फिर्ता लिएपछि उत्पन्न परिस्थितिमा बाध्य भएर अध्यादेशबाट बजेट ल्याएको जिकिर पनि गरे।

सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत खर्च गर्ने क्षमता बढाएको उनको भनाइ थियो। प्रदेश कोषलाई कमजोर हुन नदिन विधि र प्रक्रियाबाट योजनाको काम थालनी भएको पनि उनले बताए।

सो प्रस्ताव निर्णयार्थ अहिलेसम्म पेस भएको छैन। प्रस्तावपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेश सरकारमा विश्वासको वातावरण नदेखिएकाले विश्वासको मत दिन नसकिने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको तर्फबाट अम्बरबहादुर राईले राप्रपा अहिले पनि सरकारमा सहभागी भएकाले सरकारले मागेको विश्वासको मतको पक्षमा रहेको बताए। रासस

प्रकाशित: १४ असार २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =