सरकारको ६ महिना : यस्तो छ पर्यटन क्षेत्रको प्रगति

हिमाल प्रेस १४ असार २०८० २१:०८
2
SHARE
सरकारको ६ महिना : यस्तो छ पर्यटन क्षेत्रको प्रगति

काठमाडौँ- सरकारले सार्वजनिक गरेको ६ महिनाको प्रगति विवरणअनुसार पर्यटन क्षेत्रमा सुधार देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डय क्षेत्रमा उल्लेख्य प्रगति भएको ६ महिने प्रगति विवरणमा उल्लेख गरिएको छ।

पर्यटक आगमनमा उल्लेख्य सुधार भई सन् २०२३ जनवरीदेखि हालसम्म गत वर्षको सोही अवधिको तुलनामा दोब्बर पर्यटक आगमन भएको विवरणमा उल्लेख छ। विवरणअनुसार सो अवधिमा चार लाख ४६ हजार ९ सय ८९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अघिल्लो वर्ष सन् २०२२ मा ६ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा एक लाख ५१ हजार र सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भई सञ्चालनमा रहेको छ। विसं २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विमानस्थलको उद्घाटन गरेका थिए।

राष्ट्रिय गौरवको अर्को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको छ। नेपाल वायुसेवा निगमले जेठ ३० गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर–भैरहवा उडान सुरु गरेको थियो। यसअघि कुवेतको जजीरा एयरले उडान गरिरहे पनि पछिल्लो समय प्राविधिक कारणले उडान स्थगित छ।

भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तारका लागि शिलान्यास भएको छ। विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास भइसकेको छ।

त्यसैगरी, नेपाल वायुसेवा निगमको आन्तरिक उडान विस्तार गर्दै काठमाडौँ–इलाम–काठमाडौँ नियमित साप्ताहिक उडान सुरु गरिएको छ। निगमका जहाजहरूको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: १४ असार २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =