तोकिएको क्षेत्रबाहिर लगानी नगर्न सहकारीहरूलाई बालेनको निर्देशन

हिमाल प्रेस १३ असार २०८० ८:५४
6
SHARES
तोकिएको क्षेत्रबाहिर लगानी नगर्न सहकारीहरूलाई बालेनको निर्देशन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र सञ्चालित सहकारीहरूलाई विश्वसनीय सेवा प्रवाह गर्न आग्रह गरेका छन्।

बुधबार एक सूचना जारी गर्दै बालेनले यस्तो आग्रह गरेका हुन्।

उनले सहकारीहरूलाई बित्तिय जोखिमबाट बचाउन संस्थाका सेयर धनी तथा बचतकर्ताहरूलाई अनुरोधसमेत गरेका छन्।

‘वस्तु र सेवाहरूको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन्। तरलताको अभाव सृजना भएको सर्वविदितै छ। महानगरपालिकाको सहकारी विभागमा सेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

उनले सहकारी संघ संस्थाहरूले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवम् विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवम् व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न निर्देशन दिएका छन्।

सहकारी संस्थाहरूलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउन उनले विभिन्न सुझावहरू पनि दिएका छन्।

‘विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउनुहोला,’ उनले भनेका छन्, ‘तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्नुहोला।’

वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नसमेत उनले संस्थाहरूलाई आग्रह गरेका छन्।

अनुत्पादक क्षेत्रमा लगानी नगर्न, सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न, सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिन उनले निर्देशन दिएका छन्।

यस्तै बचतकर्ताहरूलाई पनि उनले आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिन, ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्न आग्रह गरेका छन्।

प्रकाशित: १३ असार २०८० ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =