वीरगञ्ज भन्सारकाे राजस्वमा कमी

हिमाल प्रेस ९ असार २०८० १५:०१
8
SHARES
वीरगञ्ज भन्सारकाे राजस्वमा कमी

पर्सा- वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ। गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आव २०८९/८०को सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो।

गत आव २०७८/७९ को साउनदेखि जेठसम्म वीरगञ्ज भन्सार कार्यालयले १ लाख ८१ हजार ४ सय ६१ प्रज्ञापनपत्र प्रयोग गरिएको थियो। चालु आवको सोही अवधिमा १ लाख ३८ हजार १ सय ७२ प्रज्ञापनपत्र प्रयोग गरिएको छ। अघिल्लो वर्षको तुलनामा ४३ हजार २ सय ७९ प्रज्ञापनपत्र कम प्रयोग गरिएको भन्सार कार्यालयको तथ्यांक छ।

गत आवको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए।

उनले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव राजस्व संकलनमा परेको बताए।

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब ३७ अर्ब ५८ करोड राजस्व संकलनको लक्ष्य दिएको छ। कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ संकलन गर्न सकेको छ।

सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र सवारीसाधन आयातमा ७० प्रतिशतले कमी आएका कारण राजस्व संकलन लक्ष्य हासिल हुन नसकेका कार्यालयका अधिकारीहरूको भनाइ छ। रासस

प्रकाशित: ९ असार २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =