सांसदको गुनासो : शून्य समयमा बोलेको कुरा कार्यान्वयन भएन

हिमाल प्रेस ७ असार २०८० १५:१८
2
SHARE
सांसदको गुनासो : शून्य समयमा बोलेको कुरा कार्यान्वयन भएन

पोखरा– गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन्। बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभावलगायतमा प्रदेश सरकारको ध्यानार्षण गराएका हुन्। बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चार-पाँच ठाउँमा भत्के पनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभावलगायतका कुरा उठाउने गरे पनि त्यसको आजसम्म कुनै जवाफ नआएको जनाउँदै शून्य समयको औचित्यबारे प्रश्न गरे।

प्रदेशसभा सदस्य चम्पादेवी खड्काले साँढे दुई दशकअघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ उपल्लाचौरदेखि बीउ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि सात वर्षसम्म पनि कालोपत्र नभएको जनाउँदै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानकर्षण गराए।

अर्का सदस्य बेदबहादुर गुरुङले गत जेठ ३१ र ३२ तथा यही असारको ३ र ४ गतेको बाढीका कारण मादीको ताङतिङ-सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए। रासस

प्रकाशित: ७ असार २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =