किसानलाई रासायनिक मल उपलब्ध गराउन नेकपा एसको माग

हिमाल प्रेस ६ असार २०८० ९:३८
6
SHARES
किसानलाई रासायनिक मल उपलब्ध गराउन नेकपा एसको माग

काठमाडौँ– युवा किसान संघको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। यही असार ४ र ५ गते काठमाडौंमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

भेलाको समापन समारोहमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल तत्काल उपलब्ध गराउन माग गरे।

उनले रासायनिक मलका लागि सरकारले ३० अर्ब विनियोजन गरेको भए पनि आयातमा ढिलासुस्ती भएकाले उनीहरूले मल नपाएको बताए।

परम्परागतरूपमा गरिँदै आएको खेती प्रणालीलाई प्रविधि प्रयोग गरी आधुनिकीकरण गर्नुपर्ने उपमहासचिव पौडेलको भनाइ छ।

पार्टीको मोर्चा फाँट प्रमुखसमेत रहेका उनले युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकेमा कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै उनीहरूलाई प्रविधिमैत्री बनाउनपर्नेमा जोड दिए।

अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले उत्पादन वृद्धि गर्न किसानलाई मल र बीउबिजनको व्यवस्था गर्नुपर्ने बताए।

किसानलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेलले मल आयातको प्रबन्ध गर्न माग गर्दै विकास र आर्थिक समृद्धिका लागि यस क्षेत्रमा गरिने लगानीले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए।

प्रकाशित: ६ असार २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =