कैलालीका किसान भन्छन्- मल नपाइएकाले खेती गर्न मन मर्‍यो

हिमाल प्रेस ११ साउन २०८० १०:३६
4
SHARES
कैलालीका किसान भन्छन्- मल नपाइएकाले खेती गर्न मन मर्‍यो फाइल तस्बिर।

कैलाली– यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्।

‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौं,’ टीकापुर-८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौं। बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौं।’

भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो हुने भन्नेमा उनी चिन्तित छन्। ‘सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन,’ उनले भने।

सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौं की नगरौं भन्ने दोधारमा थिए। बर्सेनि बाढीले क्षति पुर्‍याउँदा दिक्क भएका किसान मल नपाएपछि झन् निरास भएका छन्।

‘जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला २ वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?,’ स्थानीय शेर साउँदले भने, ‘सात बोरा डीएपी र सात बोरा यूरिया मलको खाँचो थियो, १ बोरा पनि पाइएन। भारतबाट ल्याएर प्रयोग गरे।’

टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन्। यी वडामा ५ सहकारीले मल बिक्री गर्ने गरेका छन्। यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन्। ‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौं,’ वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, ‘२५ प्रतिशत मात्र मल पायौं।’

लक्ष्मीनारायण सहकारीले यस वर्ष नौ सय ५० बोरा युरिया, ३ सय ५० बोरा डीएपी र १ सय क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो। उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो।

‘सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधामात्र मल आयो,’ कडायत भन्नुहुन्छ, ‘मल ल्याउने प्रयासमा छौं,’ उनले भने।

मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ। झार मारेर डीएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन्।

भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन्। स्थानीय युवासिंह ठकुरीले बताए।

‘भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तै पनि प्रयोग गर्नु हाम्रो बाध्यता छ,’ उनले भने। अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए।

‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्,’ उनले भने, ‘यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो।’

भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन।

जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो। उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए।

‘मलाई १४ क्विन्टल मल आवश्यक थियो,’ उनले भने, ‘सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा ५ दिन लगाएर मल पाए। यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ।’

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ। तर अहिले पनि मल अभाव छ। किसानका लागि आवश्यक मल र बिउ सहजै उपलब्ध हुनुपर्छ। मल, बिउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ।

प्रकाशित: ११ साउन २०८० १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =