काठमाडौँका निजी स्कुलमा अध्ययनरत १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

हिमाल प्रेस ५ असार २०८० १८:२७
76
SHARES
काठमाडौँका निजी स्कुलमा अध्ययनरत १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति काठमाडौँ महानगर

काठमाडौँ–  काठमाडौँ महानगर क्षेत्रभित्रका निजी विद्यालयमा अध्ययनरत १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन्। काठमाडौँमा सञ्चालित ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएपछि ती विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति पाएको प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘महानगरको इतिहासमा यो पहिलो पटक हो। लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन्।’ उनले प्राप्त विवरणमाथि निरीक्षण गरी त्यसको सूची प्रकाशित गरिने जानकारी दिए।

विवरण नपठाएका विद्यालयलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने यनको भनाइ छ। उनले भनेका छन्, ‘ त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ।’

विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएको बालेनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ।’

प्रकाशित: ५ असार २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =