संघीय संसद्‌भित्रै बेथिति छन् : सांसद हरि ढकाल

हिमाल प्रेस ५ असार २०८० १२:२१
6
SHARES
संघीय संसद्‌भित्रै बेथिति छन् : सांसद हरि ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन्।

त्यसैगरी उनले संघीय संसद् सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे।

‘बेथितिका कुराहरू गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाइदिएको यो भवन सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ। यो यसैभित्रको बेथितिको कुरा उठाउँदैछु। सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ,’ उनले भने, ‘यो वर्ष पनि चुहिन्छ। यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ। पानी आउँदैन, भुक्तानी भएछ। यहीभित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ। मर्यादापालक दाजुभाई, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्युटी गर्नुहुन्छ उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन। यो विभेद, यहीभित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ। म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद ढकालले संघीय संसद् भवनभित्र आफ्नो आँखा अगाडि भईरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने बताए।

प्रकाशित: ५ असार २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =