राजेन्द्र पाण्डेले भने : अहिलेकै अवस्थामा बजेट पास गर्न दिँदैनौँ

हिमाल प्रेस ३ असार २०८० १६:१२
36
SHARES
राजेन्द्र पाण्डेले भने : अहिलेकै अवस्थामा बजेट पास गर्न दिँदैनौँ

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरु त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पारे। सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको उनले बताए।

‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ। बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ,’ उनले भने, ‘हामीले जस मात्रै खोज्यौँ। राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन। यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो तपाईंहरू चुप लाग्नुस्, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने उत्तर दक्षिण जोड्ने केही महत्वपूर्ण आयोजनाहरुलदाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी अयोाजना, पुलहरुमा पैसा हाल्ने अरुमा पैसा प्रयोग नगर्ने भनेर शुरु गरेको भए हामीले दुई दिनमा संसदमा छलफल सक्दथ्यौँ।’

पाण्डे पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पनि अहिलेकै अवस्थामा बजेट पास गर्ने पक्षमा मत दिन नसकिने जानकारी दिइसकेको बताए। उनले थपे, ‘यही अवस्थामा यो बजेट पास हुँदैन। मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु।’

उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे।

प्रकाशित: ३ असार २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =