बञ्चरेडाँडामा संसदीय समिति पठाउन सांसद पाण्डेको आग्रह

हिमाल प्रेस २३ चैत २०७९ १५:५१
4
SHARES
बञ्चरेडाँडामा संसदीय समिति पठाउन सांसद पाण्डेको आग्रह

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बञ्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘करिब करिब २५ वर्षअघिबाट काठमाडौं उपत्यकामा जम्मा भइरहेको फोहोर, झन्डै ५० लाख जनताले गर्ने फोहोर धादिङ र नुवाकोट जिल्लामा, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरे डाँडा भन्ने ठाउँमा फ्याँक्ने काम भएको छ’ पाण्डेले भने, ‘केही समयअघि सिसडोलमा फालिन्थ्यो, अहिले बञ्चरे डाँडामा फालिन्छ। त्यो अव्यवस्थित ढंगले फालिएको छ। वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर छ। फोहोरबाट निस्किएको झोल छ।’

उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए। ‘घरमा बस्न नसकिने अवस्था छ। त्यहाँ फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्नका लागि फोहोरलाई माटोले प्रत्येक दिन छोप्न त्यहाँका जनताले आग्रह गर्दा सरकारले प्रहरी लगाएर वारेन्ट जारी गरियो, युवाहरुमा यातना दिइएको छ। त्यहाँ लगेर फोहोर गिद्ध चिलहरुले एक ठाउँबाट अर्को ठाउँमा उडाएर लैजान्छ, हवाई रुट भएकाले जुन कुनैबेला पनि दुर्घटना हुनसक्ने आँकलन गर्न सकिन्छ। सभामुख ज्युलाई अनुरोध गर्छु, संसदीय एक टोली बनाएर त्यो ठाउँमा हेर्न, कस्तो छ हेर्न पठाउन अनुरोध गर्दछु’ पाण्डेको भनाइ छ।

उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाए। उनले स्थानीयहरु घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीयहरुले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताए। उनले उक्त क्षेत्र हवाइ रुट भएकाले पनि दुर्घटना निम्तिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।

प्रकाशित: २३ चैत २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =