नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ

हिमाल प्रेस ३२ जेठ २०८० १६:२२
46
SHARES
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरू पक्राउ परेका छन्।  शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए।

निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडी सहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नुअघि समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रमाथि शीर्ष नेताहरूबाट नै खतरा उत्पन्न भएको बताए।

उनले भने, ‘लोकतन्त्रमा खतरा भयो। शीर्ष नेताहरू भ्रष्ट छन्। लोकतन्त्र राज्ने कि भ्रष्ट नेता छान्ने छिनोफानो हुनुपर्छ। होइन भने लोकतन्त्र खतरामा छ, लोकतन्त्र खतरामा शीर्ष नेता भ्रष्टचारमा छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरूलाई कारबाही गरौँ र चुरे मास्न पाइँदैन। मानव अधिकारमैत्री ऐन बनाउ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गो लगाउ भनेका छौँ सरकारलाई। शीर्ष भ्रष्ट छन् नेताको सम्पति छानबिन गर हाम्रो आग्रह यही हो।’

प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिँदैन, शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद् राष्ट्रिय पञ्चायत जस्तो नबनोस्, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसद्को रेकर्डबाट किन हटाइयो ?, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन सुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिंह केसी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गीता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई पक्राउ गरेको हो। पक्राउ परेका अधिकारकर्मीहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

प्रकाशित: ३२ जेठ २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =