पशुपतिनाथको जलहरी प्रकरण 

महालेखालाई थापाको चुनौती, ‘मलाई मृत्युदण्ड दिँदा हुन्छ’

हिमाल प्रेस ३० जेठ २०८० १६:४७
52
SHARES

काठमाडौँ- पशुपतिनाथमा चढाइएको सुनको जलहरी प्रकरणमा भएको अनियमितताका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको प्रतिवेदनलाई चुनौती दिएका छन्।

सदस्यसचिव थापाले जलहरी प्रकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभाबी आरोप लगाउन नमिल्ने बताए। यस्तै त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको दाबी उनको छ।

संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार बसेको बैठकमा सदस्य-सचिव डा. थापाले आफूले पटकपटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको दुःखेसो व्यक्त गरेका हुन्। उनले जलहरीमा १० केजी सुन अपुग भएमा आफू मृत्युदण्ड स्वीकार गर्न तयार रहेको बताए।

उनले रुँदै भने, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु। मेरो गाउँभरि बेइज्जत भयो।’ थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताए। उनले प्रश्न गरे, ‘यो केसमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र?’

उनले आफूलाई पशुपतिको भेटी तलमाथि गरेर र कुनै जग्गाजमिन बेचेर खानुपर्ने अवस्था पनि नरहेको बताए। उनले भने, ‘धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु। यो भन्दा धेरै बुझेको छैन।’ उनले महलमा बसे पनि छाप्रोमा बसे पनि काल एउटै रहेको बताए।

यस्तै उनले नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार १०३ केजी सुन लिएको बताए। सदस्यसचिव थापाले सुन खरिददेखि जलहरी तयार गर्ने क्रममा नेपाली सेनाको पनि निगरानी रहेकाले कुनै पनि अनियमितता नभएको दाबी गरे। उनले भने, ‘सेनालाई विश्वास गर्ने कि नगर्ने? यो सुन हराएको हो भने सेनाले जिम्मा लिनुपर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिएँ।’

बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए। उनले भगवान् पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्यसचिव बन्ने मौका पाएको बताए। उनले जलहरीमा ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको तर १० केजी भएको छैन भनेपछि माइन्युटमा नलेखेको मात्रै बताए। थापाले भने, ‘१० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ। जोख्दाखेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो।’

जलहरी राखिएको सम्बन्धमा महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले नै प्रश्न उठाएको थियो। महालेखाले पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको विवरण नआएको उल्लेख गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सरकारले पशुपति मन्दिरको शिवलिंग ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न ८० करोड ११ हजार खर्च गरेको थियो।

प्रतिवेदनमा उल्लेख छ, ‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ। निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ।’

जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको प्रतिवेदनमा उल्लेख थियो।

माओवादी सांसदले जलहरी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि संलग्नता रहेको आरोप लगाएपछि एमालेले केही दिनअघि संसद् बैठक नै अवरुद्ध गरेको थियो। तीन दलीय सहमतिअनुसार उक्त आरोप संसद्को रेकर्डबाट हटाइएपछि संसद् बैठक सञ्चालन भएको थियो।

जलहरीमा प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा छानबिन भइरहेको छ।

प्रकाशित: ३० जेठ २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =