काठमाडौँमा कफी सम्मेलन

हिमाल प्रेस ३० जेठ २०८० ६:२४
8
SHARES
काठमाडौँमा कफी सम्मेलन

काठमाडौँ- नेपाल कफी व्यवसायी महासंघले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको छ। महासंघले असार २ देखि असार ५ गतेसम्म राजधानीमा कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको हो।

महासंघसँगै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतको सहकार्यमा आयोजना गर्न लागिएको हो।

कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको महासंघले जनाएको छ। उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तरक्रिया गरिने आयोजकले जनाएको छ। सम्मेलनमा कफी उत्पादक, निर्यातकर्ता, उपकरण उत्पादक एवं कफी उत्पादक तथा प्रवर्द्धनसम्बन्धी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गरिने महासंघका अध्यक्ष ओमनाथ अधिकारीले बताए। उनका अनुसार सम्मेलनमा कफीसँग सम्बन्धित विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कृत गर्ने कार्यक्रम छ।

सम्मेलनबाट कफी उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासंघका महासचिव सन्तोष पोखरेलले बताए।

प्रकाशित: ३० जेठ २०८० ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =