विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर

हिमाल प्रेस २८ जेठ २०८० १४:५५
2
SHARE
विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। प्राधिकरणले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५-३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने प्राधिकरणको भनाइ छ। साथै मिटर जडान पनि निःशुल्क गरिने प्राधिकरणले बताएको छ।

सामान्य अवस्थामा मिटरको १ हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिपरिवार १२ हजारदेखि १५ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ।

प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गर्दै आएको बताएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई मिटर हस्तान्तरण गरे।

गौशालाका ६८ र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका १६२ विपन्न परिवारलाई मिटर उपलब्ध गराइएको प्राधिकरणले जानकारी दिएको छ। ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरेर अहिले चौबीसै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्‍याउने चरणको अन्त्यतिर छौँ,’ उनले भने, ‘अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ। विद्युत् नै नपुगी सँधै लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्र विद्युतीकरण गर्ने यात्रामा छौँ।’

मधेश प्रदेशलाई चाँडै पूर्णविद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको घिसिङले बताए। विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न पनि स्थानीयलाई उनले आग्रह गरे। मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ।

प्रकाशित: २८ जेठ २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =