लेखनाथ हाफ म्याराथनको उपाधि रामजीलाई

हिमाल प्रेस २७ जेठ २०८० १८:५९
18
SHARES
लेखनाथ हाफ म्याराथनको उपाधि रामजीलाई

पोखरा- लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन्।

मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए। जोशीले १ घण्टा १४ मिनेट २ सेकेन्ड र गुरूङले १ घण्टा १८ मिनेट ८ सेकेन्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले बताए।

महिला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए। न्यौपानेले १ घण्टा ६ मिनेट ३७ सेकेन्ड, राउतले १ घण्टा ७ मिनेट २१ सेकेन्ड र चौधरीले १ घण्टा ८ मिनेट १६ सेकेन्डमा दूरी पूरा गरेका थिए। म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाए।

हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।

५ किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन्। उनले २४ मिनेट ५० सेकेन्डमा दूरी पार गरिन्। मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमशः २५ मिनेट ३८ सेकेन्ड र २६ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए।

छात्रतर्फ १७ मिनेट ४० सेकेन्डमा ५ किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए। विवेक परियार १७ मिनेट ५० सेकेन्डमा र सुनिल बिक १७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए। ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्राले १५ हजार, १० हजार र ५ हजार रूपैयाँ पाए।

यसैबीच, धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए। उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए। म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन्।

चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा पूरा गरेका थिए। प्रतियोगिता कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको हो।

प्रकाशित: २७ जेठ २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =