बगर खेतीमा कैलारी गाउँपालिकाको शतप्रतिशत अनुदान

हिमाल प्रेस २३ जेठ २०८० २०:३०
4
SHARES
बगर खेतीमा कैलारी गाउँपालिकाको शतप्रतिशत अनुदान कैलालीको भजनीमा प्रत्येक वर्ष बाढीले खेत डुबानमा पर्दैआएपछि लगाइएका लिप्टिसका रुख।

कैलाली- कैलालीको कैलारी गाउँपालिकाले बाढी र डुबानबाट जोगिने उद्येश्यले बगर खेतीलाई प्रोत्साहन गर्ने भएको छ। बर्सेनी बाढी र डुबानबाट प्रभावित हुँदै आएकाले गाउँपालिकाले बगर खेतीलाई प्रोत्साहन गर्ने भएको हो। बगर खेती प्रोत्साहन गर्न गाउँपालिकाले शतप्रतिशत अनुदान दिने भएको हो।

कैलारी गाउँपालिका कैलालीमा सबैभन्दा बढी डुबानमा पर्ने स्थानीय तहमध्ये एक हो। कैलारीसँगै जानकी गाउँपालिका, टिकापुर नगरपालिका र भजनी नगरपालिका उच्च डुबानमा पर्ने स्थानीय तह हुन्। उक्त स्थानीय तहका किसानले बाढी र डुबानको डरले बर्खामा धान खेती छाडेका छन्। यहाँका किसानले बगरमा फलफूल लगाउने र चैते धान खेती गर्दै आएका छन्। भजनीका किसानले बाढीबाट जोगिन लिप्टिस खेतीसमेत गर्दै आएका छन्।

खेती नै नगरे उत्पादनमा समस्या हुने भन्दै कैलारी गाउँपालिकाले थोरै उत्पादन भए पनि बगर खेतीलाई प्रोत्साहन गर्न लागेको हो। गत वर्षको बाढीबाट विस्थापित यस गाउँपालिकाका १६ घरपरिवारलाई जंगलमा टेन्ट उपलब्ध गराएर बसोबासको व्यवस्था मिलाएको छ। गत वर्षको बाढी प्रभावित परिवारलाई लक्षित गरेरै बगर खेतीमा अनुदान पनि दिइएको गाउँपालिकाको भनाइ छ।

बगर खेती गर्ने प्रविधिबारे गाउँपालिकाले विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्ने गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए। उनले इच्छुक किसानलाई खेती प्रणालीबारे प्रशिक्षण दिने गरिएको पनि बताए। उनका अनुसार बगर खेती गर्ने किसानलाई मालपोत शुल्क पनि ५० प्रतिशत छुट दिइनेछ। ‘बाढी प्रभावितहरूको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीमा प्रोत्साहन गरेका हौँ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रहरूमा एकदमै गरिबी छ। आर्थिक अवस्था नाजुक छ। आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौँ।’

गत वर्षको बाढीले कैलारी गाउँपालिकाको वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो। कैलारीसहित, जानकी गाउँपालिका, टिकापुर र भजनी नगरपालिकाका किसानले खोलाको बगरमा काँक्रो खेती, गोलभेडा, खर्बुजा, लौकालगायत खेती गर्दै आएका छन्। उक्त स्थानीय तहका विभिन्न वडाहरू प्रत्येक वर्ष बाढीले प्रभावित हुँदै आएका छन्।

-न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: २३ जेठ २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =