बाँदरमुढे घटनाका पीडितको संरक्षण तथा पीडकको अभियोजन सुनिश्चित गर्न सरकारलाई आग्रह

हिमाल प्रेस २३ जेठ २०८० १२:२८
26
SHARES
बाँदरमुढे घटनाका पीडितको संरक्षण तथा पीडकको अभियोजन सुनिश्चित गर्न सरकारलाई आग्रह

काठमाडौँ- जवाफदेहिता निगरानी समिति र एड्भोकेसी फोरम नेपालले चितवनको बाँदरमुढेमा भएको घटनामा पीडितको संरक्षण तथा पीडकको अभियोजन सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ।

चितवनको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले एक यात्रुवाहक बसमा बम आक्रमण गरी ३५ सर्वसाधारण तथा ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको हत्या गरेको आज १८ वर्ष पुगेको जनाउँदै उनीहरूले संयुक्त विज्ञप्ति  जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्।

विगत १८ वर्षदेखि पीडितहरू न्यायबाट वञ्चित रहेको भन्दै उनीहरूको पीडा र वेदनालाई राज्यले बेवास्ता गर्दै आएको, पीडकहरूलाई अभियोजन गर्ने आफ्नो कर्तव्य पूरा गर्न र उक्त बम विस्फोटका घाइते तथा अपांगता भएका पीडितहरूको स्वास्थ्य उपचार उपलब्ध गराउन एवं परिपूरण प्रदान गर्न सरकार चुकेको विज्ञप्तिमा उल्लेख छ।

आक्रमणका पीडित तथा प्रत्यक्षदर्शीहरूको संरक्षण सुनिश्चित गर्न र यथाशीघ्र पीडकहरूलाई न्यायको दायरामा ल्याउनका लागि तत्काल स्वच्छ पूर्पक्ष सुनिश्चित गर्न र बाँदरमुढे आक्रमणका पीडितहरूलाई स्वास्थ्य उपचार सेवा, रोजगारी र परिपूरण उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयन गर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ।

त्यस्तै बाँदरमुढे आक्रमणलगायत सशस्त्र द्वन्द्वका क्रममा गरिएका मानवअधिकार उल्लंघन एवं ज्यादतीमा सत्यनिरूपण तथा मेलमिलाप आयोगले शीघ्र अनुसन्धान थाल्ने सुनिश्चित गर्न र पीडितलाई न्यायबाट वञ्चित गराउने तथा जघन्य अपराधका पीडकहरूलाई माफी दिलाउने गरी संशोधन विधेयकमा राखिएका समस्याग्रस्त प्रावधानलाई सर्वोच्च अदालतको निर्देशन एवं पीडित समुदायसँग गरिएका परामर्श बैठकबाट आएका निष्कर्षबमोजिम संशोधन गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ।

उक्त घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए र तीमध्ये ६ जनाको पछि मृत्यु भएको थियो।

प्रकाशित: २३ जेठ २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =