पुस्तक अंश

बाङ्डुङ सम्मेलन : नेपाली कूटनीतिमा थपिएको नयाँ अध्याय

डा. मदनकुमार भट्टराई ९ असार २०८० ८:५५ | Saturday, June 24, 2023
बाङ्डुङ सम्मेलन : नेपाली कूटनीतिमा थपिएको नयाँ अध्याय

अप्रिल १९५५ मा इन्डोनेसियाको बाङ्डुङमा सम्पन्न एसियाली र अफ्रिकी देशको शिखर सम्मेलनमा टोली नेताका रूपमा भाग लिनुलाई शोभागजंग थापा विशेष मान्छन्। यसलाई उनी परराष्ट्र सचिवको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण घटनाका रूपमा लिन्छन्। साथै उनी उक्त समयलाई विकासोन्मुख र भर्खर अन्तर्राष्ट्रिय रंगमञ्चमा पाइला चाल्न थालेको मुलुक नेपालका लागि कूटनीतिक दृष्टिकोणले ज्यादै अर्थपूर्ण भएको मान्थे।

सम्मेलनमा नेपालबाट प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले भाग लिने व्यवस्था मिलाइएको थियो। तर सम्मेलन सुरु हुने केही दिनअघि मन्त्रिपरिषद् विघटन भएकाले परराष्ट्र सचिव थापाको नेतृत्वमा पाँच सदस्यसहितको एउटा टोलीलाई सम्मेलनमा भाग लिन पठाइयो।

सन् १९५५ अप्रिल १८-२४ मा भएको ऐतिहासिक सम्मेलनमा राजा महेन्द्रबाट थापाको नेतृत्वमा पठाएको पाँच सदस्यीय प्रतिनिधिमण्डलका अरू सदस्यमा पूर्वपरराष्ट्र सचिव र तत्कालीन शिक्षा सचिव प्रा. रामप्रसाद मानन्धर, प्रा. यदुनाथ खनाल (त्रिचन्द्र कलेजमा अंग्रेजीका प्रोफेसर), प्रा. नरेशमान सिंह (त्रिचन्द्र कलेज अर्थशास्त्रका प्रोफेसर र पछि लोकसेवा आयोगका सदस्य) तथा कर्नेल पद्मबहादुर खत्री थिए।

उक्त प्रतिनिधिमण्डलका नेता र प्रतिनिधि (डेलिगेट) मेजर जनरल शोभागजंग थापा र वैकल्पिक प्रतिनिधि (अल्टरनेट डेलिगेट) रामप्रसाद मानन्धरलाई सम्मेलन अवधिका लागि विशेष दूत, स्पेसल आन्भ्वायको दर्जा दिइएको थियो। प्रतिनिधिमण्डलको सचिवमा यदुनाथ खनाललाई तोकिएको थियो।

सायद राजनीतिक टोली पठाउन नसकिएका कारण हुन सक्छ, बाङ्डुङ सम्मेलनमा जाने दुई पदाधिकारीलाई विशेष सम्मान दिइने व्यवस्था गरियो। प्रतिनिधिमण्डलको प्रस्थान एवम् आगमनलाई सञ्चारमाध्यमले विशेष स्थान दिएका थिए। टोलीका तीन सदस्य रामप्रसाद मानन्धर, यदुनाथ खनाल र नरेशमान सिंह अप्रिल ८, १९५५ का दिन इन्डोनेसिया जाने क्रममा काठमाडौँबाट कोलकातातर्फ प्रस्थान गरेका थिए।

टोली नेता मेजर जनरल शोभागजंग थापा र अर्का सदस्य कर्नेल पद्मबहादुर खत्री भने सोही बाटो अप्रिल १०, १९५५ मा काठमाडौँबाट प्रस्थान गरेको देखिन्छ। नेपाल सरकारको प्रचार विभागले टोलीका दुई वरिष्ठ सदस्यलाई राजा महेन्द्रबाट स्पेसल आन्भ्वायको दर्जा दिएको तथ्य पनि विशेष रूपमा उल्लेख गरेको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा एक सय वर्षको राणाकालको एक्लोपन त्यागी नवआगन्तुक राष्ट्रका रूपमा राष्ट्रको प्रतिष्ठा बढाउन ऐतिहासिक कूटनीतिक महत्त्व राख्ने सम्मेलनमा नेपालले प्रशासनिक कर्मचारीको संलग्नता र उच्चस्तरको राजनीतिक प्रतिनिधित्व नगराएर आफ्नो विचार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्ट राख्न वञ्चित गर्‍यो भन्ने केही थिए। साथै यस प्रकारको सम्मेलनबाट राष्ट्रिय स्वार्थको जगेर्ना गर्ने महत्त्वपूर्ण अवसरबाट आफूलाई टाढा राखेको आलोचना पनि भएको थियो।

मसँगको भेटमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले आफ्नो दोस्रो सरकारको अन्तिम समयतिर बाङ्डुङमा भएको सम्मेलनमा आफू, परराष्ट्रमन्त्री र परराष्ट्र सचिव शोभागजंग थापालगायतको प्रतिनिधिमण्डल जाने भनेर निर्णय भइसकेको थियो। तर देशभित्र र विशेषगरी नेपाली कांग्रेस पार्टीले आफ्नो नेतृत्वको राष्ट्रिय प्रजा पार्टीप्रति अनावश्यक रूपमा असहयोग एवम् षड्यन्त्र गर्न थाल्यो। त्यस कारण आफू राजीनामा दिन बाध्य भएकाले केही समय सल्लाहकारमात्र सम्मिलित सरकारको नियुक्ति भएको र प्रधानमन्त्री एवम् मन्त्रीहरूको नियुक्ति नभएकाले यस्तो स्थिति आएको पृष्ठभूमिमाथि विस्तृत प्रकाश पारेका थिए।

व्यक्ति र घटनाको सटीक एवम् विश्लेषणात्मक आकलन गर्ने कोइरालाको मूल्यांकनमा थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राम्रो काम गरेको थियो। जतिसुकै माथिल्लो स्तरको राजनीतिक प्रतिनिधित्व भए पनि त्यति बेलाको वस्तुस्थिति र नेपालले भर्खर सुरु गरेको कूटनीतिक विविधीकरणको नीति अघि बढाउन थापाको प्रतिनिधिमण्डलले जेजस्तो काम गर्‍यो, त्योभन्दा बढी अरूबाट हुन सक्ने स्थिति थिएन।

परराष्ट्र सचिवका रूपमा औपचारिक शिक्षामा कमी भए तापनि निकै तेज, राम्रो अनुभव, सहयोगीसँग समन्वयात्मक ढंगले काम गर्न सक्ने र बलियो आत्मविश्वास एवम् सुझबुझ भएका कारण थापाको कार्यशैलीबाट आफू प्रभावित भएको कुरा पनि कोइरालाले मलाई भनेका थिए।

कतिपय विश्लेषक र अधिकारीको आकलनमा ‘मामुली’ नेपाली प्रतिनिधिमण्डलले मात्र भाग लिएको भए पनि अफ्रो-एसियाली सम्मेलनको सहभागिता नेपालको परराष्ट्र नीतिमा महत्त्वपूर्ण अध्याय प्रमाणित भयो। नेपालले परराष्ट्र नीतिको मूलभूत सिद्धान्तका रूपमा लिएको असंलग्न आन्दोलनको बीजारोपण यसै सम्मेलनले गर्नुबाट शोभागजंग थापाको एसिया-अफ्रिका क्षेत्रका २९ राष्ट्रसँग सम्पर्क हुनु, सम्मेलनका क्रममा ‘दश सिद्धान्त’ घोषित हुनु र यी सिद्धान्त नै असंलग्न आन्दोलनका प्रतिपादित सिद्धान्तका रूपमा अन्ततः घोषित हुनु कागतालीमात्र नभई सुखद संयोग पनि थियो। वास्तवमा अप्रिल २९, १९५४ मा स्वीकृत पञ्चशीलको सिद्धान्तकै विस्तारित रूपमा बाङ्डुङ सिद्धान्त प्रतिपादन हुन पुग्यो।

बाङ्डुङमा आयोजित सन् १९५५ को एसिया-अफ्रिका सम्मेलनमा आतिथ्य राष्ट्र इन्डोनेसियाका अतिरिक्त अन्य २८ राष्ट्र सहभागी थिए। सम्मेलनका सहआयोजक राष्ट्रमा बर्मा, भारत, इन्डोनेसिया, पाकिस्तान र सिलोन थिए। अप्रिल १८-२४, १९५५ मा आयोजित सम्मेलनमा परिचयात्मक अभिव्यक्ति (इन्ट्रोडक्टरी स्पिचेज) २२ राष्ट्रका तर्फबाट भएको थियो।

यस प्रकारको वक्तव्य नदिने राष्ट्रमा आतिथ्य मुलुक इन्डोनेसियाका अतिरिक्त बर्मा, भारत, पर्सिया (इरान), साउदी अरेबिया, तत्कालीन उत्तर भियतनाम र यमन सामेल थिए। इन्डोनेसियाका प्रधानमन्त्री रादेन अलि सास्त्रोअमिदजोजो (मे २१, १९०३-मार्च १३, १९७५) लाई अध्यक्षका रूपमा छानिएको उक्त सम्मेलन अप्रिल १८-१९ अवधिका उद्घाटनसत्रमा परिचयात्मक अभिव्यक्ति दिने २२ राष्ट्रमा अफगानिस्तान, कम्बोडिया, सिलोन (श्रीलंका), चीन, इजिप्ट, एथियोपिया, गोल्ड कोस्ट (घाना), इराक, जापान, जोर्डन, लेबनान, लाइबेरिया, लिबिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, सियाम (थाइल्यान्ड), सुडान, सिरिया, टर्की र तत्कालीन दक्षिण भियतनाम थिए।

इन्डोनेसियाका स्वतन्त्र सेनानी र राष्ट्रपति सुकार्नो (जुन ६, १९०१ (जुन २१, १९७०) का निकट सहयोगी रोस्लान अब्दुलगानी (नोभेम्बर २४, १९१४- जुन २९, २००५)ले सम्मेलनको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सम्मेलनमा आफ्नो परिचयात्मक अभिव्यक्ति दिँदै नेपाली प्रतिनिधिमण्डलका नेता मेजर जनरल शोभागजंग थापाले लामो समयदेखि निरङ्कुश शासनको चपेटामा रही भर्खरै खुला वातावरणमा पदार्पण गरेको नेपालको आकांक्षा मुखरित गरेका थिए।

थापाले पाँच विषयवस्तुमा जोड दिएका थिए। ती पाँच प्रमुख तत्त्वमा १) प्रजातन्त्र र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति समर्थन, २) संयुक्त राष्ट्रसङ्घमा सबै राष्ट्रको प्रवेशको अनिवार्यता, ३) अर्को विश्व गुट बनाउन नहुने, ४) हालै प्राप्त स्वतन्त्रता र स्वाधीनताको रक्षा र सुदृढीकरणको जरूरी, ५) पण्डित नेहरुले सहयोग एवम् सद्भावनाको आधारका रूपमा प्रतिपादन गरेका पाँच सिद्धान्तप्रति समर्थन आदि थिए।

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सहभागी राष्ट्र विद्यमान समयमा विश्वलाई वैचारिक आधारमा विभाजन गर्ने साम्यवादी र गैरसाम्यवादी समूह दुवैसँग सहमत नभएको र यसको मुख्य कारण दुवै व्यवस्था गलत सिद्धान्तमा आधारित भएको विषयमा प्रकाश पारे। हरेक शक्तिगुटले असुरक्षा निम्त्याएको, आणविक बमजस्ता सामग्रीको उत्पादन हुन गएको, यसबाट हुने सुरक्षाको अनुभूति झूटो सुरक्षा हो र यसबाट वास्तविक अर्थमा सुरक्षा स्थापना नहुने विषयमा उनले जोड दिएका थिए।

इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय सभासम्मेलनमा पहिलोपटक विश्वको कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या भएका एसिया र अफ्रिकाका यति धेरै राष्ट्र भेला भएको कुरामा प्रसन्नता व्यक्त गर्दै चीनका प्रधानमन्त्री चाउ एन्लाईले गरिबी र पछौटेपनबाट ग्रस्त नवस्वतन्त्र राष्ट्रहरूले उपनिवेशवादी मुलुकबाट सतर्क रहन आग्रह गरे। उनको भनाइमा विश्व परिस्थितिलाई दृष्टिगत गर्दा एसिया अफ्रिका क्षेत्रका राष्ट्रबीच सहयोग, एकता र सामञ्जस्यको बढी खाँचो छ भन्ने थियो।

[डा. भट्टराईको ‘चार कूटनीतिक’ पुस्तकको एक अंश]

प्रकाशित: ९ असार २०८० ८:५५ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast