भारत भ्रमणमा निस्कँदै प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १७ जेठ २०८० ७:२३
8
SHARES
भारत भ्रमणमा निस्कँदै प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ-  सत्ता सम्हालेको ६ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारतको औपचारिक भ्रमणमा निस्कँदैछन्। चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी रहेकाे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनाएका छन्।

साउदले भने, ‘यो भ्रमणमा ट्रेड, ट्रान्जिट, कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेन्ट, फाइनान्सियल कोप्रेसनजस्ता मुद्दाहरूलाई अगाडि बढाउनेछौँ।’ भ्रमणमा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने, समझदारी पनि अझ बढाउँदै लैजाने, जलविद्युत् आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने विषय, भारतीय ट्रान्समिसन प्रयोग गरेर बंगलादेशमा विद्युत् निर्यात गर्नुपर्ने जस्ता एजेन्डा छन्।

यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट खुलाउने जस्ता विषयमा पनि भारतीय पक्षसँग छलफल गर्ने सरकारको तयारी छ। मन्त्री साउदले भने, ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही असमझदारी हटाउने बारेमा पनि छलफल हुनेछ।’

रक्सौल-वीरगन्ज-सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको स्थान बारेमा छलफल गरिनेछ भने नेपालगन्ज), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाका पनि चलायमान बनाउने विषयमा भारतीय पक्षसँग छलफल गर्ने सरकारको तयारी छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको भारतको तेस्रो भ्रमण हो। २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्ड भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा भारत गएका थिए। त्यति बेला पनि उनलाई औपचारिक भ्रमणको निम्ता गरिएको थियो।

यसअघि प्रचण्डले सन् २०१६ को सेप्टेम्बर १५ देखि १८ सम्म गरेको भारत भ्रमण राजकीय थियो। नरेन्द्र मोदी नेतृत्व बीजेपी सरकारले भारतमा बोलाउँदा उनलाई राजकीय सम्मान दिएको थियो भने २५ बुँदे संयुक्त वक्तव्य जारी गरिएको थियो। यसपटकको भ्रमण भने औपचारिक हो।

परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य

प्रकाशित: १७ जेठ २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =