प्रिमियर लिग : दुई पूर्वच्याम्पियन लेस्टर र लिड्स रेलिगेसनमा, बच्यो एभरटन

हिमाल प्रेस १५ जेठ २०८० ११:१२
14
SHARES
प्रिमियर लिग : दुई पूर्वच्याम्पियन लेस्टर र लिड्स रेलिगेसनमा, बच्यो एभरटन

काठमाडौँ- लेस्टर सिटी इंग्लिस प्रिमियर लिगबाट आइतबार राति घटुवा भएको छ। सात वर्षअघि लिग जितेको लेस्टर च्याम्पियनसिपमा झर्दा एभरटनले रेलिगसेनबाट जोगियो। सिजनको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरे पनि लेस्टरले प्रिमियर लिग क्लबको हैसियत बचाउन सकेन।

बर्नमाउथमाथि १-० को जित दर्ता गरेपछि एभरटन भने प्रिमियर लिगमै रहने पक्का भयो। एभरटन ६९ वर्षदेखि लगातार प्रिमियर लिगमा छ।

इंग्लिस फुटबलको पहिलो श्रेणीको लिग जितेका यी दुई क्लब आगामी सिजन कता खेल्ने भन्ने टुंगो लागेकै दिन अर्को पूर्वविजेता लिड्स युनाइटेडले पनि च्याम्पियनसिपको बाटो समात्यो। टोटनहमसँगको पराजय लिड्सका लागि दोस्रो श्रेणीको लिग पुग्ने टिकट बन्यो। लिड्स तीन वर्षअघि प्रिमियर लिग फर्किएको थियो।

प्रिमियर लिगमा यो सिजनका सबै खेल सकिँदा लेस्टरले ३४, लिड्सले ३१ र साउथह्याम्पटनले २५ अंक जम्मा गरे। यी तीन क्रमशः १८, १९ र २० औँ स्थानमा रहे। रेलिगेसनबाट बचेका एभरटनले १७ औँ, नटिङहम फरेस्टले १६ औँ र बर्नमाउथले १५ औँ स्थान सुरक्षित गरे।

एभरटनका लागि अब्दाउले डिकोरे नायक साबित भए। मालीका मिडफिल्डर डिकोरेले ५७ औँ मिनेटमा १८ यार्ड बक्सबाहिरबाट गरेको गोल एभरटनलाई रेलिगेसनबाट जोगाउन पर्याप्त रह्यो।

अनिवार्य जितको लक्ष्यका साथ घरेलु मैदान गुडिसन पार्कमा ओर्लिएका एभरटनका खेलाडीले खेललाई पूर्ण नियन्त्रणमा राखेका थिए। करिब ४० हजार घरेलु समर्थकको साथ पाएको एभरटनले गोल गर्नुअघि पनि लगातार आक्रमण बुनिरहेको थियो।

‘एभरटन चर्किएको मात्र थियो, भत्किएको थिएन। आखिरमा खेलाडीहरुले प्रमाणित गरे, हामी हार मान्ने खालका होइनौँ भनेर। हो हामी यो स्थितिमा आइपुग्नै हुँदैन थियो। यो सिजन जे जे भयो यसबाट हामीले सिक्नैपर्छ,’ एभरटनका प्रशिक्षक सिन डाइचले भने।

डाइच गत जनवरी ३० मा मात्रै एभरटनको प्रशिक्षक नियुक्त भएका थिए। फ्रान्क लाम्पार्डलाई प्रतिस्थापन गरेका डाइचलाई एभरटनले दिएको मुख्य लक्ष्य थियो, रेलिगेसनबाट बचाउने। १८ औँ खेलमा डाइचले यो लक्ष्य पूरा गरेका हुन्।

डाइचको जस्तै जिम्मेवारी पाएका डिन स्मिथ भने लेस्टरमा असफल भए। स्मिथ अप्रिल ११ मा लेस्टरको प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा लेस्टरले आठ खेल खेल्यो र जम्मा दुई खेलमा मात्र विजयी बन्यो। वेस्टह्यामविरुद्ध प्राप्त जित स्थिमथको नेतृत्वमा लेस्टरले पाएको दोस्रो जित थियो।

प्रशस्त प्रतिभावान् खेलाडी भए पनि लेस्टरले यो सिजनका धेरैजसो खेलमा खराब प्रदर्शन गरिरह्यो। यद्यपि वेस्टह्यामविरुद्ध भने लेस्टरले आफ्नो स्तर अनुसारको खेल देखायो। हार्भी बान्सले पहिलो हाफको ३४ औँ मिनेटमा गोलको खाता खोले भने वाउट फाइसले ६२ औँ मिनेटमा गोल अन्तर दोब्बर बनाए। यो खेलअघि नै रेलिगेसनबाट सुरक्षित भइसकेको वेस्टह्यामका लागि पाब्लो फोर्नाल्सले ७९ औँ मिनेटमा गोल फर्काए।

‘असफल भएपछि प्रत्येक प्रशिक्षकले यसो होइन त्यसो गरेको भए हुन्थ्यो भनेर सोच्छन्। तर सत्य के हो भने, टिमको प्रदर्शन अनुसार सिजनको अन्त्य हुन्छ। मैले सात साता यो क्लब सम्हाल्ने समय पाए। यो बीचमा आठ खेल खेलियो। मलाई दिएको लक्ष्य थियो, रेलिगेसनबाट बच्ने। यो लक्ष्यमा म असफल भएकै हो,’ ब्रेन्डन रोजर्सलाई प्रतिस्थापन गरेका स्मिथले भने।

घरेलु मैदानम एलान्ड रोर्डमा टोटनहमसँग भिडेको लिड्सलाई आफूले जितेर मात्र पुग्दैन थियो, अरु विपक्षी टिम हार्न जरुरी थियो। यस्तो कठिन परिस्थितिमा आफूभन्दा निकै बलियो टोटनहमको सामना गरेको लिड्सले दुई मिनेटभित्रै गोल खायो।

‘यो व्यावसायिक आत्महत्या हो। यो टिमले लामो समयदेखि गल्ती गरिरहेको थियो। आज पनि गर्‍यो,’ लिड्सका प्रशिक्षक साम एलरडाइसले भने। उनले जम्मा चार खेलमा लिड्सलाई प्रशिक्षण दिन पाए। यी चार खेलबाट लिड्सले एक अंक मात्र बटुल्न सक्यो।

लिड्सले पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि सुरुवातमै गोल खायो। टोटनहमका पेड्रो पोरोले ४७ औँ मिनेटमा गोल गरेका थिए। ज्याक ह्यारिसने ६७ औँ मिनेटमा गोल गर्दै लिड्सलाई खेलमा फर्काउन खोजे। तर लिड्सले दुई मिनेटपछि नै गोल खायो। केनले व्यक्तिगत दोस्रो गोल गरे भने लुकास मौउराले थपिएको समयमा गोल अन्तर ४- १ बनाए।

लिड्सलाई हराए पनि टोटनहमले आउँदो सिजनको युरोपियन क्लब फुटबलमा स्थान बनाउन सकेन। टोटनहम आठौँ स्थानमै सीमित भयो। सातौँ स्थान एस्टन भिल्ला, छैटौँ स्थान ब्राइटन र पाँचौँ स्थान लिभरपुलले कब्जा गरे। भिल्लाले अर्को सिजन युरोपा कन्फ्रेन्स लिग खेल्नेछ भने ब्राइटन र लिभरपुलले युरोपा लिगमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्नेछन्।

भिल्लाले कन्फ्रेन्स लिगमा सहभागिता पक्का गर्न आइतबार राति ब्राइटनलाई २-१ ले पराजित गर्‍यो। उता लिभरपुलले भने पहिल्यै रेलिगेट भइसकेको साउथह्याम्पटनसँग ४- ४ को बराबरी खेल्यो। सेन्ट मेरिज रंगशालामा लिभरपुल सुरुवाती १४ मिनेटभित्र २-० ले अघि बढेको थियो। लिभरपुलका लागि डिएगो जोटा र रोबर्टो फरमिन्होले एक- एक गोल गरेका थिए।

तर १९ औँ मिनेटमा जेम्स वार्ड प्राउजले गोल गरेपछि साउथह्याम्पटनले खेलमा फर्कने संकेत गर्‍यो। त्यसपछि कमालदिन सुलेमानाले लगातार दुई गोल गर्दै साउथह्याम्पटनलाई ३-२ को स्थितिमा पुर्‍याए। दोस्रो हाफको ६४ औँ मिनेटमा एडम आम्र्सस्ट्रोङको गोलका कारण घरेलु टिम अब ४-२ ले अघि बढ्यो। तर लिभरपुलका कोडी गाक्पो र जोटोले पालैपालो गोल थपेपछि लिभरपुल हारबाट जोगियो।

गत सिजन उपविजेता बनेको लिभरपुल यसपालि ६७ अंकमा खुम्चियो। फलतः लिभरपुल चौथो स्थानको न्युकासल युनाइटेडभन्दा चार अंकले पछि रह्यो। चेल्सीसँग १-१ को बराबरी खेले पनि न्युकासलको चौथो स्थानमाथि खतरा पैदा भएन। चेल्सी भने १२ औँ स्थानमा अड्कियो।

तेस्रो स्थान आगटेको म्यानचेस्टर युनाइटेडले फुलहमलाई २-१ ले पन्छायो। युनाइटेडको खातामा कुल ७५ अंक जम्मा भयो। जुन लिग विजेता म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलको भन्दा क्रमशः १४ र नौ अंकले कम हो। च्याम्पियन सिटीले ब्रेन्टफोर्डसँग १-० को पराजय भोग्दै सिजनको अन्त्य गर्दा आर्सनलले उल्भरह्याम्पटनलाई ५-० ले हरायो। आर्सनलको जितमा जाकाले दुई गोल गरे। जाका अर्को सिजन आर्सनलमा हुने छैनन्।

प्रकाशित: १५ जेठ २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =