विराटनगर तनावग्रस्त : प्रहरीमाथि आक्रमण, केही पहिचानवादी पनि घाइते

विवेक विवश रेग्मी १४ जेठ २०८० १५:५८
408
SHARES
विराटनगर तनावग्रस्त : प्रहरीमाथि आक्रमण, केही पहिचानवादी पनि घाइते

इटहरी– प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले गरेको प्रदर्शनमा सुरक्षाकर्मीसहित दर्जन बढी घाइते भएका छन्। प्रदर्शन र ढुंगामुढाका कारण आइतबार विराटनगरको देवकोटा चोक तनावग्रस्त छ।

सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले एक्कासी ढुंगामुढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो। बाँस, लाठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन्। गम्भीर घाइते अवस्थाका सुरक्षाकर्मीलाई उपचारका लागि विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा भर्ना गरिएको छ।

कोशी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले आन्दोलन गरेपछि राजधानी विराटनगरमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको बजार क्षेत्रमा शनिबार देखि अनिश्चितकालसम्मका लागि निषेधित क्षेत्र तोकेको हो।

प्रदेशसभाको बजेट अधिवेशन आइतबार सुरु भएको छ। सोही कारण विराटनगरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ। अधिवेशन बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि त्यसको विरोधमा पहिचानवादीहरू सडकमा उत्रिएका थिए। आन्दोलनले उग्र रूप लिँदा एक जनाको ज्यान गएको थियो। केही साता मत्थर भएको आन्दोलनले फेरि प्रदेश १ का सहरहरू अशान्त बनेका छन्।

आन्दोलनका लागि पहिचावादीहरूले ४३ वटा समूहको संघर्ष समिति निर्माण गरेका छन्।

प्रकाशित: १४ जेठ २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =