सांसद दाहालमाथि ओलीको विषवमन, दिए देशद्रोहीको संज्ञा

हिमाल प्रेस १२ जेठ २०८० १८:१२
34
SHARES
सांसद दाहालमाथि ओलीको विषवमन, दिए देशद्रोहीको संज्ञा फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन्। देशमा कोही पनि इमानदार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह भएको उनको जिकिर थियो।

ओलीले भने, ‘जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु। त्यही मान्छेका विरुद्ध देशद्रोही तत्त्वहरूले, देशमा कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने यो देशद्रोही काम हो।’

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए।

सांसद दाहालले जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति दिएकाले एमालेले त्यसविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको पनि अध्यक्ष ओलीले बताए। उनले भने, ‘एउटा जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्ता कुरा बोलेर हिँड्दैन। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भन्ने यस्तो खालको बकबास, संसदजस्तो गरिमामय ठाउँमा?’

ओलीले यस्तो आरोप आधारहीन, असत्य र जनतालाई भ्रममा पार्ने खालको बताए।  यस्तै ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारुढ दलहरूले मिलेर आरोप लगाइरहेको समेत बताए। उनले भने, ‘हामी यतिबेला चौतर्फी घेराबन्दी छौँ। नभएको भुटानी शरणार्थी भएको ठाउँमा गैरभुटानीलाई शरणार्थी बनाएर विदेश पठाउने खालको त्यस्तो धन्दामा केही व्यक्ति सामेल भएका रहेछन्। अहिले म को यसमा संलग्न छ? के छ? अदालतमा केस छ। अहिले म धेरै भन्न चाहन्नँ। तर सम्पूर्ण रूपमा एमालेतर्फ नै बाढी खन्याउन खोजियो।’

‘एउटा जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्ता कुरा बोलेर हिँड्दैन। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भन्ने यस्तो खालको बकबास, संसदजस्तो गरिमामय ठाउँमा?’

ओलीले नक्कली शरणार्थी प्रकरणमा एमाले कहीँकतै संलग्न नरहेको बताए। उनले भने, ‘एमाले यस्ता कुराहरूसँग सम्बन्धित छँदैछैन। नेकपा एमाले भ्रष्टाचारको सधैँ विरोधी छ। स्वच्छता, पारदर्शिता, सुशासनका पक्षमा छ।’ एमालेलाई बदनाम गर्न खोजिएकाले संसद् अवरुद्ध गर्नुपरेको उनले भनाइ छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि एमालेका र खासगरी आफू नजिक रहेका भनिएका मान्छेहरूलाई नाम पोल्न लगाउने, मुछ्न र प्रचार गर्न लगाउने काम भइरहेको आरोप अध्यक्ष ओलीको छ। उनले भने, ‘पुलिसकहाँ कसैले नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ? कस्तो तयारी साथ बयान रोकेर मान्छेलाई सही गराइएको छ? अनि भ्रष्टाचार कसरी भएको छ?’

ओलीले भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि नै उजुरी परे पनि छानबिनमा ढिलाइ भइरहेको भन्दै आपत्ति जनाए। उनले गिरफ्तार भएका व्यक्तिहरूमाथि छानबिन नै नगरी रिहाइ गरिएको आरोप पनि लगाए। उनले भने, ‘उनीहरूलाई छोड्ने कोको हुन्? किन छोडे? के कारणले छोडे? त्यसको खोजी हुनुपर्छ कि पर्दैन? किन गुपचुप गर्न खोजियो?’ त्यसपछि मात्र निवेदनको बाढी आउन थाले ओलीले बताए। ‘थोरै मान्छे ठगिएका रहेनछन्। निवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरि गिरफ्तार भए।’

ओलीले गिरफ्तार भएका मान्छेहरूसँग घण्टाँै भेटघाट गराएर नयाँ खालका योजना बनाइएको आरोप पनि लगाए। उनले प्रश्न गरे, ‘ती मान्छे किन गए त्यहाँ? कसले पठायो?’ उनले एमालेविरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने प्रयास, आरोपित गर्ने प्रयास हुन सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई निर्देशन दिए।

आफू पूर्वाञ्चल जाँदा ढुंगा हान्नेसम्मका क्रियाकलाप हुँदा पनि सरकारले ती मान्छेलाई गिरफ्तार नगरेको भनेर ओलीले आपत्ति जनाए। उनले भने, ‘यसरी सरकारले हिंसालाई बढावा दिइराखेको छ। हिंसावादीहरूको मनोबल उठाउने काम गरिराखेको छ।’ विपक्षी दलको नेता, पूर्वप्रधानमन्त्री, देशको प्रमुख पार्टीमध्येको एउटा पार्टीको अध्यक्षमाथि त्यस्तो ज्यान मार्ने उद्योग हुँदा सरकारले किञ्चित दुःखमनाउ नगरेको भन्दै ओलीले दुःख व्यक्त गरे।

एमालेलाई आपत्ति हुने गरी सुनको जलहरीबारे माओवादी सांसदले के बोलेका थिए?

प्रकाशित: १२ जेठ २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =