भ्रदगोल पूर्वाधार

पूर्वाधार अभाव झेल्दै धनगढी

पदमराज भट्ट ७ जेठ २०८० १८:५०
66
SHARES
पूर्वाधार अभाव झेल्दै धनगढी धनगढी बजार। तस्बिर : पदमराज भट्ट

धनगढी बजार सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रसँगै अस्थायी राजधानीसमेत हो। राणाकालमा कैलाली र कञ्चनपुरमा एउटा गोश्वारा हुने गथ्र्यो। त्यतिबेलाको प्रशासनिक केन्द्र थियो, बेलौरी।  १९९७ सालमा बैलौरीका सरकारी कार्यालय बिस्तारै धनगढी सर्न सुरु भए। २०१९ सालमा जिल्ला विभाजन भयो। कैलाली र कञ्चनपुर अलग भए। २०२० सालतिर धनगढीमा पाँचवटामात्र घर पक्की थिए। २०२४/२५ धनगढीमा बस्ती बस्न सुरु भयो।

अहिले उपमहानगरपालिकासँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा सहरी पूर्वाधार भने विकास हुन सकेका छैनन्। खाल्डाखुल्डी सडक अनि ढल निकास नहुँदा डुबानको चपेटामा छ, धनगढी। भित्री सडक साँघुरा छन्। सडकबत्ती छैनन्। विद्युत्, केबल तथा इन्टरनेटका तारले सहरलाई त्यस्तै अव्यवस्थित बनाएको छ।

कतिपय सडक निर्माणाधीन अवस्थामा छन्। धनगढीको मेरुदण्डका रूपमा रहेका मोहना अत्तरिया ६ लेन सडक पनि बनेको छैन। ‘एकातिर ६ लेन सडक निर्माणको काम भइरहेको छ, अर्काेतिर भत्किन सुरु भइसकेको छ,’ धनगढी राजपुरका वीरेन्द्र चौधरी भन्छन्, ‘सडकछेउमै हुने पार्किङले पैदलयात्रीलाई निकै सास्ती दिएको छ।’

ठाउँठाउँमा राखिएका होर्डिङ बोर्डले सहर कुरूप बन्दै गइरहेको छ। ‘सवारीसाधनको धुलोधुवाँले बसिनसक्नुभएको छ,’ कपडा व्यापारी सीता चौलागाई भन्छिन्, ‘प्रदेशको राजधानीमा बस्छौँ भन्न पनि लाज लाग्छ। साँच्चिकै धनगढीलाई सुन्दर बनाउने हो भने सरकारी निकायसँगै हामी नागरिकले पनि त्यसमा उत्तिकै काम गर्नुपर्छ।’

बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुनु धनगढी बजारको अर्को समस्या हो। ‘बजारमा सार्वजनिक शौचालय छैनन्,’ चौलागाई भन्छिन्, ‘भएका पनि दुर्गन्धित र जीर्ण छन्।’
किनमेल गर्न बजार आउँदा शौचालयका लागि होटल छिर्नुपर्ने बाध्यता रहेको उपमहानगरपालीका-१ का मनोज जैरु बताउँछन्।

‘सामान किन्न बजार आउँदा पिसाब लाग्यो भने च्यापेर शौचालयको खोजी गर्नुपर्छ,’ उनी भन्छन्। धनगढी उपमहानगरपालिका-१ मा गत साता स्मार्ट शौचालय निर्माणको लागि बोलपत्र आह्वान गरिएको छ।

उसो त धनगढीको सौन्दर्य बढाउन उपमहानगरपालिकाले प्रयास नथालेको होइन। मुख्य सडकको रूपमा रहेको धनगढी अत्तरिया ६ लेन सडकको केही स्थानमा सडकबत्ती जडान गरिएका छन्। केही स्थानमा जडान हुने प्रक्रियामा छन्। उपमहानगरपालिकाले सडकको बीच भागमा वृक्षरोपण गरी जाली लगाई तिनको संरक्षणसमेत गरिरहेको छ।
धनगढीभित्र रहेको ६ लेन सडकका विभिन्न स्थानमा ट्राफिक संकेत राखिएका छन् तर जेब्रा क्रसिङ नभएको ठाउँमा पैदल मार्गका साइनबोर्ड राखिएका छन्।

हुलाकी राजमार्गसँग जोडिने धनगढी चौराहादेखि क्याम्पस रोडसम्मको सडक निर्माणाधीन छ। सार्वजनिक जमिनसँगै ढल निकासका नालामा अतिक्रमण बढ्दा उपमहानगरले अतिक्रमण हटाउने अभियान जारी राखेको छ।

बजार क्षेत्रका मुख्य ढल निकासका नालामाथि आवासीय भवन बन्दा बर्खायाममा बजार क्षेत्र जलमग्न हुने गरेको छ। यहाँ ४ लेनको हुलाकी राजमार्ग निर्माण पनि हँुदै छ। सहरी क्षेत्रमा फराकिलो सडक बनाउने गरी धनगढीको क्याम्पस रोडदेखि मनोहरासम्म सडक कालोपत्रे भइरहेको छ।

कुहिने तथा नकुहिने फोहोर छुट्टाछुट्टै संकलनका लागि ठाउँठाउँमा भाँडा राखिएका छन्। तर स्थानीयले फोहोर छुट्याइएको पाइँदैन। उपमहानगरपालिकाले प्लास्टिक प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ।

घनाबस्ती र बजार रहेको उपमहानगरको १, २, ३ ४ ५ ८ र अहिले १३ मा पनि ढल निकासको समस्या देखिएको छ। सहरी विकास तथा प्राविधिक शाखा प्रमुख इ. दिजराज भट्ट भन्छन्, ‘क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत १० किलोमिटर सडकसँगै ढल निकास निर्माणका काम भइरहेका छन्।’

सहरको सौन्दर्य बढाउन वृक्षरोपण पनि गरिने उनी बताउँछन्। ‘६ लेनमा हरियाली प्रवद्र्धन गर्ने कार्यसमेत भइरहेको छ,’ उनी भन्छन्। भट्टका अनुसार ‘स्मार्ट लाइट’सँगै एसियाली विकास बैंकको सहयोगमा एकीकृत सरसफाइ तथा खानेपानी आयोजनाको अध्ययन भइरहेको छ।

सहरको सौन्दर्यका लागि बस्ती विकासलाई सुधार्नुपर्ने पालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख इ. भट्ट बताउँछन्। ‘यो तराई क्षेत्र हो, यहाँ डुबानको समस्या हुन्छ,’ उनी भन्छन्, ‘पानीको उचित निकासको व्यवस्था गरिनुपर्छ। धनगढीमा गर्मी हुने भएकाले धुलोधुवाँबाट बच्न सडक कालोपत्रे गर्नुका साथै सहरमा हरियाली बढाउनुपर्छ। जसले तापक्रमसमेत सन्तुलित राख्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =