प्रिमियर लिग : ठूला क्लब ढल्ने ‘रेलिगेसन ब्याटल’

हिमाल प्रेस ६ जेठ २०८० ९:५७
8
SHARES
प्रिमियर लिग : ठूला क्लब ढल्ने ‘रेलिगेसन ब्याटल’

काठमाडौँ- इंग्लिस प्रिमियर लिगले यसअघि यसपालिको जस्तो ‘रेलिगेसन ब्याटल’ देखेको थिएन। साउथह्याम्टन गत साता नै च्याम्पियनसिपमा झरिसकेकाले अब घटुवा हुने पालो दुई क्लबको छ। तर ती दुई क्लब नबन्न कुल चार क्लबबीच प्रतिस्पर्धा छ। त्यो पनि दुई खेल मात्र बाँकी रहँदा।

यहाँ राख्नै पर्ने तथ्य त के छ भने, यी चार क्लब लिग विजेता हुन्। इंग्लिस फुटबलमा यी सबैको सम्बृद्ध इतिहास छ। चार क्लबमध्ये सबैभन्दा पछिल्लो पटक लिग जित्ने लेस्टर सिटी हो। सन् २०१६ मा च्याम्पियन बनेको लेस्टरले त्यसअघि यस्तो सफलता हात पारेको थिएन।

अन्य तीन क्लब लिड्स युनाइटेड, एभरटन र नटिङहम फरेस्ट हुन्। लिड्स सन् १९९२, एभरटन १९८७ र फरेस्ट १९७८ मा इंग्ल्यान्डको च्याम्पियन बनेका थिए।

फरेस्ट च्याम्पियन बन्दा इंग्लिस फुटबलको पहिलो श्रेणीको लिगलाई ‘फर्स्ट डिभिजन’ भनिन्थ्यो। कालान्तरमा यो प्रिमियर लिग बन्यो। नाम जे जे भए पनि फरेस्ट लिग च्याम्पियन बनेको ४५ वर्ष भयो। त्यसयता यी चारबाहेक अन्य सात क्लबले मात्र इंग्लिस लिग जितेका छन्।

‘अहिले हामीले याद गर्नुपर्ने कुरा यति हो, हामी गर वा मरको स्थितिमा छौँ। अन्तिम क्षणसम्म लड्ने हो। योबाहेक अर्को विकल्प छैन,’ लिड्सका प्रशिक्षक साम एलरडाइसले भनेका छन्। लिड्सलाई रेलिगेसनबाट बचाउने जिम्मेवारी लिएका अनुभवी एलरडाइसको अभिव्यक्तिबाट प्रस्ट हुन्छ, यो लडाइँ कति भयानक छ।

आधुनिक फुटबललाई तथ्यांकले ढाकेको छ। रेलिगेसन ब्याटलबारे पनि पर्याप्त तथ्यांक संकलन गरिएका छन्। विश्लेषक निएल्सन ग्रेसनोटका अनुसार रेलिगेसनमा पर्ने सबैभन्दा बढी सम्भावना लेस्टरको छ। त्यसपछि एभरटन अनि फरेस्टको। तर तथ्यांक तुरुन्तै परिवर्तन हुनसक्छन्। अखिरमा तथ्यांकको स्रोत मैदानको प्रदर्शन न हो।

तथ्यांक मात्र किन, फुटबल नै परिवर्तनशील हुन्छ। कुरा यति हो, कहिलेकाहिँ परिवर्तन सुस्त हुनसक्छ। लिड्स १६ वर्ष दोस्रो श्रेणीको लिगमा रह्यो। प्रिमियर लिगमा उक्लिएको त दुई वर्ष मात्र भयो। फरेस्ट त अझ लामो समय च्याम्पियनसिप खेल्यो। फरेस्ट यसैपालि प्रिमियर लिगमा आएको हो। यसअघि फरेस्टले सन् १९९९ मा मात्रै प्रिमियर लिग खेलेको थियो। लेस्टर भने सन् २०१४ मा प्रिमियर लिगमा फर्किएको थियो, एक दशकको अन्तरालपछि।

एभरटन भने बाँकी तीन क्लबभन्दा फरक छ। किनभने एभरटन सन् १९५५ यता लगातार पहिलो श्रेणीमै छ। आफ्नो १३६ वर्षे लामो इतिहासमा एभरटन दुई पटक मात्र रेलिगेसनमा परेको छ। एभरटनभन्दा लामो समय पहिलो श्रेणीको लिग खेल्ने क्लब आर्सनल मात्र हो।

रेलिगेसन ब्याटलमा रहेका चारै क्लब बलियो ब्रान्ड हुन्। उनीहरूको समर्थक विश्वभर छन्। यसकारण यी क्लबबाट अहिलेको परिस्थितिको अपेक्षा गरिँदैन। भलै बाँकी दुई खेलमा उनीहरुले आफूलाई बचाउन्। फरेस्टले पनि रेलिगेसनको खतरा टार्नसक्छ। त्यसोभए यो सिजन बढुवा भएका तीनवटै क्लब प्रिमियर लिगमा रहनेछन्। पछिल्लो पटक यस्तो परिदृश्य सन् २०१७/१८ मा देखिएको थियो। त्यसबेला साउथह्याम्पटनसँगै हडर्सफिल्ड र ब्राइटनले प्रियिमर लिग मान्यता जोगाएका थिए।

अहिले १६ देखि १९ औँ स्थानमा रहेका क्लबहरुबीच मात्र चार अंकको फरक छ। यी चार क्लब बाँकीभन्दा भिन्दै प्रतिस्पर्धामा छन्। यसलाई प्रिमियर लिगभित्रको मिनी लिग भने पनि हुन्छ। ‘यो मिनी लिगमा हामी पहिलो हुन चाहन्छौँ। हुन त अबका दुई खेलमा जे पनि हुनसक्छ। यसकारण हामी एकाग्र हुनैपर्छ,’ हाल १६ औँ स्थानमा रहेको फरेस्टका प्रशिक्षक स्टिभ कुपरले भनेका छन्।

शनिबार साँझ प्रिमियर लिग फर्कदा फरेस्ट र एभरटनले क्रमशः आर्सनल र उल्भरह्याम्पटनको सामना गर्नेछन्। लिड्स आइतबार मात्र मैदान ओर्लनेछ। उता लिड्सको खेल भने सोमबार मात्र छ। लिड्सले लगातार तेस्रो खेल सोमबार खेल्न लागेको हो। यस्तो तालिकालाई लिएर लेस्टरका प्रशिक्षक स्मिथको असन्तुष्टि छ।

खासमा स्मिथ हार मानिरहेका छन्। उनीमात्र होइन लेस्टरका कोही पनि रेलिगेसनबाट बच्न सकिन्छ भन्ने मनस्थितिमा छैनन्। गत सिजन आठौँ भएको यो क्लब लगातार खराब प्रदर्शनबाट गुज्रिएको छ। युरोपका पाँच ठूला लिग खेल्ने क्लबहरुमध्ये विश्वकपपछि एकै ‘क्लिनसिट’ नराख्ने लेस्टर मात्र हो।

स्मिथले लिग तलिकाको आलोचना गरे पनि एभरटनका प्रशिक्षक सिन डाइचको तर्क भने परिवर्तशील छ। ‘रेलिगेसन ब्याटलमा म यसपटक मात्र सहभागी भएको होइन। गएको सिजन पनि म यो परिस्थितिमा थिए। कहिलेकाहिँ आफ्नो खेल सही दिनमा भएको जस्तो लाग्छ, कहिले गलत दिनमा। यस्तो विचार स्वाभाविक हो। तर अन्ततः तालिका जे छ, त्यसलाई स्वीकार गर्नुको विकल्प छैन,’ डाइचले भनेका छन्।

चार क्लब तालिकाका कारण यहाँ आइपुगेका होइनन्। बरु गरेका गल्तीलाई समयमै सम्बोधन गर्न नसक्दा रेलिगेसनको खतरामा परेका हुन्। फरेस्टले त खेलाडी बजारमा अत्यधिक खर्च गरेको पनि हो। तर भनेजस्तो लय समात्नै सकेन। यद्यपि फरेस्टको भाग्य उसकै बस्मा छ।

लिगमा रेलिगेसन अनिवार्य प्रक्रिया हो। तीन क्लब आउँछन्, तीन जान्छन्। रेलिगेसनको प्रभाव भने क्लब अनुसारको हुन्छ। फरेस्टमा कम होला, तर एभरटनको हकमा भने गहिरो हुनेछ। लिड्स र लेस्टर जस्तोसुकै स्थिति पनि सहन तयार रहेको बताउँछन्। यद्यपि सत्य यही हो, आखिरमा जो घटुवामा पर्छ, उसले समस्या भोग्नै पर्छ। भलै च्याम्पियनसिप भने खुसी हुनेछ, ठूला क्लबको पुनरागमनले।

प्रकाशित: ६ जेठ २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =