‘शरणार्थी प्रकरण छानबिनमा प्रहरी चौबीसै घण्टा सक्रिय’

हिमाल प्रेस २ जेठ २०८० १५:५२
34
SHARES
‘शरणार्थी प्रकरण छानबिनमा प्रहरी चौबीसै घण्टा सक्रिय’ राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी। तस्बिर : रासस

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरी चौबीसै घण्टा सक्रिय रहेको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको छ।’ मन्त्री श्रेष्ठले प्रहरीलाई प्रारम्भिक चरणदेखि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको जानकारी दिए। उनले अनुसन्धानमा सरकार कुनै पनि दबाबका कारण पछि नहट्ने आश्वासन पनि दिएका छन्।

उनले भने, ‘सरकारका तर्फबाट कुनै बायसनेस लिइनेछैन र कुनै दबाबको अघि झुक्ने छैन। अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ।’ यस्तै उनले अनुसन्धानका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने काम भइरहेको जानकारी दिए।

मन्त्री श्रेष्ठले कोही निर्दोष फस्ने काम नहोस् भनेर निर्देशन दिइएको जानकारी पनि दिए। मन्त्री श्रेष्ठले भने, ‘कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिएका छौँ। प्रहरी त्यसैअनुसार अघि बढेको छ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणको पनि अनुसन्धान हुने जानकारी दिए।  बैठकमा यसअघि नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका कांग्रेस महामन्त्रीसमेत रहेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ। दोषीहरू कोही नछुटून्, निर्दोष कोही नमुछियून् भनेर हामी सबै राजनीतिक दलहरुले भनेका नै छौँ। निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ।’

शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनका सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =