लिभरपुलसँग पराजित लेस्टर रेलिगेसन नजिक

हिमाल प्रेस २ जेठ २०८० ८:४५
8
SHARES
लिभरपुलसँग पराजित लेस्टर रेलिगेसन नजिक

काठमाडाैँ– इंग्लिस प्रिमियर लिगमा सोमबार राति लिभरपुलले लेस्टर सिटीलाई ३-० ले हराएकाे छ। यो नतिजाले लिभरपुलकाे शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्यो भने लेस्टरलाई च्याम्पियनसिपको नजिक पुर्‍यायो। अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्य राखेको लिभरपुल अब ६८ अंकसहित पाँचौँ स्थानमा छ।

लिभरपुलको जितमा कर्टिन्स जोन्सले दुई र ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले एक गोल गरे। पहिलो हाफको ३३ र ३६ औँ मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुलले खेलमा पकड जमाएको थियो।लिभरपुलले दोस्रो गोल दोस्रो हाफको ७१ औँ मिनेटमा थप्यो। एकै खेलमा मिडफिल्डर र फुलब्याक भएर खेल्ने गरेको आर्नोल्डले मोहम्मद सलाहले रिलिज गरेको फ्रिकिकमा लामो दूरीको गोल गरेका थिए।

लेस्टरलाई हराएसँगै लिभरपुललकाे अपराजित खेलको शृंखला सातौँ खेलसम्म पुग्याे। यद्यपि यो लय लिभरपुललाई शीर्ष चारमा पार्न पर्याप्त नहुन सक्छ। तेस्रो र चौथो स्थानका न्युकासल युनाइटेड तथा म्यानचेस्ट युनाइटेडले आउँदा तीन खेलमा खराब प्रदर्शन गरे मात्र लिभरपुलको भाग्य चम्किँने छ। न्युकासल र युनाइटेडले अब तीन-तीन खेल खेल्न बाँकी छ। उता लिभरपुलले भने ३८ मध्ये ३६ खेल खेलिसकेको छ।

‘हामीले आफ्नो खेल जित्दै जानुपर्छ। यदि न्युकासल र युनाइटेडमध्ये एक क्लब शीर्ष चारबाट चिप्लियो भने हामीले त्यो ठाउँ लिन सक्नुपर्छ। तर त्यसका लागि हामीले आफ्नो भागमा परेको जिम्मेवारी भने पूरा गर्नुपर्छ। त्यो हो बाँकी दुई खेल जित्ने। अहिलेसम्म हामी गतिलो लयमा छौँ। ६ साताअघिकै कुरा गर्ने हो भने हामी शीर्ष चारको दौडबाट पूर्ण रुपमा बाहिर थियौँ,’ लिभरपुलका प्रशिक्षक योर्गन क्लपले भनेका छन्।

सात वर्षअघि सबैलाई छक्क पार्दै प्रिमियर लिग जितेको लेस्टर अहिले ३० अंकका साथ १९ औँ स्थानमा छ। लेस्टर हाल रेलिगेसनमा परिसकेको साउथह्याम्पटनभन्दा ६ अंक माथि छ। उता १७ औँ स्थानको एभरटन र १८ औँ स्थानको लिड्स युनाइटेडले लेस्टरभन्दा क्रमशः दुई र एक अंक बढी जम्मा गरेका छन्।

लेस्टर आगामी सोमबार राति न्युकासलसँग भिड्दैछ। त्यो खेल हारे लेस्टरले अर्को सिजन दोस्रो दोस्रो श्रेणीको लिग च्याम्पियनसिप खेल्ने पक्का हुनेछ। त्यही रात लिड्स वेस्टहयाम युनाइटेडसँग आमनेसामने हुनेछ। एभरटन भने उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ।

‘हामीले आउँदो खेल जित्नुपर्छ। रेलिगेसनबाट बच्न न्यूनत शर्त यही हो। न्युकासलसँग उसकै मैदानमा खेल्न सजिलो हुने छैन। तर सुरुमै अगैता लिनसके जितको सम्भावना छ,’ लेस्टरका प्रशिक्षक डिन स्मिथले भनेका छन्।

प्रकाशित: २ जेठ २०८० ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =