बेलायती प्रधानमन्त्री सुनाकले समर्थन गर्ने साउथह्याम्पटन रेलिगेसनमा

हिमाल प्रेस ३१ वैशाख २०८० १०:४३
14
SHARES
बेलायती प्रधानमन्त्री सुनाकले समर्थन गर्ने साउथह्याम्पटन रेलिगेसनमा

काठमाडौँ- साउथह्याम्पटन अन्ततः इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको छ। शनिबार राति फुलहमसँग २-० ले हारेसँगै साउथह्याम्पटन रेलिगेसनमा परेको हो। फुलहमसँगको हार साउथह्याम्पटनका लागि यो सिजनको २४ औँ हार हो। अंक तालिकाको पुछारमा रहेको साउथह्याम्पटनसँग ३६ खेलबाट २४ अंक छ। साउथह्याम्पटनले यसपालि जितेको खेल संख्या ६ मात्र हो। अरू ६ खेलमा साउथह्याम्पटनले बराबरी गरेको छ।

साउथह्याम्पटनलाई उसकै मैदानमा हराउन फुलहमका कार्लोस भिनिसियस र अलेक्जान्डर मिट्रोभिचले एक-एक गोल गरे। यही सिजन प्रिमियर लिग फर्किएको फुलहम अब नवौँ स्थानमा उक्लिएको छ। लिगमा दुई खेल खेल्न बाँकी रहँदा फुलहमसँग ५१ अंक छ।

साउथह्याम्पटन ११ खेलमा जितविहीन छ। फेब्रुअरी २४ मा साउथह्याम्पटनको नयाँ प्रशिक्षक बनेका रुबेन सेलेसले १४ खेलमध्ये दुईमा मात्र जित दिलाउन सकेका छन्। उनी साउथह्याम्पटनले यो सिजन नियुक्त गरेको तेस्रो प्रशिक्षक हुन्। नाथन जोन्स बर्खास्तीमा परेपछि सहायक प्रशिक्षकको पदमा रहेका ३९ वर्षीय सेलेसलाई टिमको पूर्ण जिम्मेवारी दिइएको थियो। जोन्सले भने राल्फ हासेनहुटेललाई प्रतिस्थापन गरेका थिए। हासहुटेलले चार वर्षको बसाइ नोभेम्बर, २०२२ मा अन्त्य गरेका थिए।

यो सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने साउथह्याम्पटन पहिलो टिम हो। ११ वर्षअघि च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा भएको साउथह्याम्पटन पछिल्ला दुई सिजन लगातार १५ औँ भएको थियो। ‘यो हाम्रा लागि दुःखद दिन हो। मैदानमा सही प्रदर्शन नगर्दा नै यो दिन आएको हो। आज त हामीले झनै खराब खेल्यौँ। यदि हामीले आफ्नो स्तर अनुसारको खेलेको भए यो स्थिति आउँदैन थियो। हामीले आफ्नो समीक्षा गर्न जरुरी छ। नयाँ सिजन सुरु गर्दा यसपालिको जस्तो गल्ती नहोस् भनेर सचेत हुनुपर्छ,’ सेलेसले भने।

साउथह्याम्पटन यसपालि लगभग सधै रेलिगेसन क्षेत्रमै ररिरह्यो। कुनै पनि बिन्दूमा लगातार जित हात पार्न सकेन। पछिल्लो समय त साउथह्याम्पटनले लगातार चार खेल हारेको छ। ‘गएको तीन महिनाको जिम्मेवारी म लिन्छु। मैले धेरैभन्दा धेरै खेल जिताउनु पर्ने थियो। बलियो ढंगमा प्रतिस्पर्धा गर्ने टिम निर्माण गर्न सक्नु पथ्र्यो,’ सेलेसले भनेका छन्।

शनिबार साउथह्याम्पटनको खेल हेर्न बेलायती प्रधानमन्त्री ऋषी सुनाक पनि सेन्ट मेरिज रंगशालामा उपस्थित थिए। उनी बालखबाटै साउथह्याम्पटन समर्थक हुन्। साउथह्याम्पटन समर्थकले यसअघि नै आफ्नो क्लब रेलिगेसनमा पर्ने स्वीकार गरिसकेका थिए। त्यही कारण हुनसक्छ, फुलहमसँगको खेलमा साउथह्याम्पटनको रंगशालामा लगभग आधा खाली थियो।

खेलमा फुलहम हाबी हुँदै गएपछि बीचमै रंगशाला छाड्नेको लर्को लागेको थियो। खेल सकिएपछि साउथह्याम्पटनका समर्थकले आफ्ना खलाडीविरुद्ध नारा लगाएका थिए। ‘तिमीहरु यो क्लबको जर्सी लगाउने लायकको छैनौँ,’ समर्थकहरु यस्तो भनिरहेका थिए।

निराश देखिएका साउथह्याम्पटनका कप्तान जेम्स वार्ड प्राउजले रेलिगेसन अनपेक्षित नभएको प्रतिक्रिया दिए। ‘हामी पहिलेबाटै खतरा महसुस गरिरहेका थियौँ। कहाँ गल्ती भयो भनेर हामीले व्यक्तिगत समीक्षा गर्नुपर्छ। क्लबले त गर्छ नै। हामीले सक्दो महेनत ग¥यौँ कि गरेनौँ, आफैँसँग जवाफ खोज्नु पर्छ,’ २८ वर्षीय इंग्लिस मिडसफल्डर वार्ड प्राउजले भने, ‘मलाई लाग्छ हामीले मेहनत गरेनौँ। यो लज्जास्पद हो। पहिलो खेलदेखि अहिलेसम्मको खेल विश्लेषण ग¥यो भने छर्लङ्ग हुन्छ, हाम्रो स्तर निरन्तर खस्किरहेको थियो भनेर।’

साउथह्याम्पटन एकेडेमीका उत्पादन वार्ड प्राउजले यो क्लबका लागि प्रिमियर लिगमा कुल ३४१ खेल खेलेका छन्। तिनमा उनले ५४ गोल गरेका छन् ५२ गोलका लागि पास उपलब्ध गराएका छन्। इंग्ल्यान्डका लागि समेत ११ खेल खेलेको वार्ड प्राउज अर्को सिजन साउथह्याम्पटनमा नहुने सम्भावना छ।

साउथह्याम्पटनको स्वामित्वकर्ता स्पोर्ट रिपब्लिकले क्लब रेलिगेसनमा पर्नु निराशाजनक भएको प्रतिक्रिया दिएको छ। ‘प्रिमियर लिग विश्वकै सबैभन्दा कठिन लिग हो। यहाँ टिक्ने खालको नतिजा हामीले यो सिजन हासिल गर्न सकेनौँ। हामी सबै निराश छौँ। तर यो परिस्थिति हामीले एक भएर सामना गर्नुपर्छ,’ स्पोर्ट रिपब्लिकले भनेको छ, ‘प्रिमियर लिगको पहिलो सिजन साउथह्याम्पटनले खेलेको थियो। यो क्लबको इतिहास गहिरो छ। हामी फेरि प्रिमियर लिगमा फर्कन चाहन्छौँ।’

प्रकाशित: ३१ वैशाख २०८० १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =