अर्थतन्त्रका समस्या मौद्रिक नीतिको समीक्षाले समाधान गर्न सक्दैन : गोल्यान

हिमाल प्रेस ३० वैशाख २०८० १६:१३
4
SHARES
अर्थतन्त्रका समस्या मौद्रिक नीतिको समीक्षाले समाधान गर्न सक्दैन : गोल्यान

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताएका छन्।
बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरूले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनर्तालिकिकरणको व्यवस्था सकारात्मक रहेको उनले बताएका हुन्।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे गोल्यानले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने व्यवसायीहरूका लागि सहुलियतको व्यवस्था गर्नु सकारात्मक रहेको बताए। उक्त व्यवस्थाले साना व्यवसायीहरूलाई राहत पुग्ने उनले बताए। डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सीडी रेसियोमा समस्या नदेखिने उनको भनाइ थियो।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समीक्षा समग्रमा राम्रो भए पनि उत्पादन क्षेत्र कृषि, ऊर्जा, पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरू र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताए।

उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भए पनि नघटेको उनको भनाइ थियो। उत्पादन उद्योग र अन्य उद्योगका लागि फरकफरक ब्याजदर कायम हुनुपर्ने उनले बताए। उत्पादनमूलक उद्योगहरूमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने उनको भनाइ थियो। बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रूपमा हुनुपर्ने उनले बताए।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समीक्षामार्फत पूरा नभएका मागहरू आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिमार्फत हुन आवश्यक रहेको बताए।
उत्पादन क्षेत्रका लागि बंैकको सीडी रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरकफरक ब्याजदर र आधारदर बनाउन आवश्यक रहेको उनले बताए।

बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्नसक्ने उनले औँल्याए। बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने तर नघटेको उनको भनाइ थियो।

बैंकर्स संघले वैशाखमा ब्याजदर नघटाउने निर्णय गरेकाले केही समयपछि स्पे्रड दरमा दबाब सिर्जना गर्नसक्ने उनले औल्याए। समग्रमा मौद्रिक नीतिको समिक्षा सकारात्मक आए पनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई तत्काल समाधान गर्नसक्ने नदेखिएको उनको भनाइ थियो।

प्रकाशित: ३० वैशाख २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =