ओली भन्छन्- रास्वपा जुनसुकै शक्तिकेन्द्रबाट प्रयोग हुन सक्ने जोखिम छ

हिमाल प्रेस २८ वैशाख २०८० १७:४४
48
SHARES
ओली भन्छन्- रास्वपा जुनसुकै शक्तिकेन्द्रबाट प्रयोग हुन सक्ने जोखिम छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सही विकल्प हुन नसक्ने दाबी गरेका छन्।  ओली पार्टी केन्द्रीय कमिटी बैठकमा बिहीबार पेस गरेको राजनीतिक प्रतिवेदनमा रास्वपालाई प्रियतावादी (पपुलिस्ट) शक्तिको संज्ञा दिँदै यस्तो दाबी गरेका हुन्।

जनताका असन्तुष्टिलाई निर्वाचनका बेला एजेन्डाका रूपमा उपयोग गर्न सफल भए पनि यसले राजनीतिक विकल्प दिन नसक्ने ओलीको निष्कर्ष छ।

ओलीले गठबन्धनमा रहेका दलहरूका कारण राजनीतिक विकृति बढेको, सुशासन एवम् सेवा प्रवाहमा गम्भीर विचलन हुँदा समाजमा निराशा बढेको र त्यसलाई पपुलिस्ट शक्तिले उपयोग गरेको उल्लेख गरेका छन्।

ओलीको प्रतिवेदनमा उल्लेख छ, ‘पपुलिजमको सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरूलाई राम्रैसँग प्रयोग गर्न सक्छ तर समाधानका लागि विकल्प दिन सक्दैन। हाम्रो जस्तो समाजमा जनअसन्तुष्टिलाई उपयोग गर्न सजिलो छ।’

यस्तै उनले सही दर्शन र विचारधारा नभएको, अर्थराजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान हुने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प हुन नसक्ने ठोकुवा गरेका छन्।

उनले भनेका छन्, ‘बरु यस्तो शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरुद्ध विभिन्न शक्तिकेन्द्रहरूबाट उपयोग हुने जोखिम हुन्छ। त्यसैले हामीले पपुलिजमका वर्गीय र अर्थराजनीतिक आधार एवम् भूमिकालाई मसिनो गरी केलाउँदै तदनुरुपको दृष्टिकोण निर्माण गरेर अघि बढ्नुपर्छ।’ उनले प्रतिवेदनमा रास्वपाको नाम भने लिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =