ओलीको समीक्षा : दलभित्रकै अराजक प्रवृत्तिले एमाले पहिलो बन्न सकेन

हिमाल प्रेस २८ वैशाख २०८० १७:०२
22
SHARES
ओलीको समीक्षा : दलभित्रकै अराजक प्रवृत्तिले एमाले पहिलो बन्न सकेन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीभित्र देखा परेका व्यक्तिवादी प्रवृत्ति, विकृति, संगठनात्मक शिथिलता र अराजकता महत्त्वपूर्ण कारक रहेको औँल्याएका छन्।

अध्यक्ष ओलीले बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘हामीले निर्वाचनमा प्रत्येक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मतको वृद्धि गर्नुस्, पाँच मतको रक्षा भन्ने आह्वान गरेका थियौँ। तर त्यो लक्ष्य पूरा हुन सकेन। कतिपय कमिटीहरू क्रियाशीलै नभएको र जनसम्बन्धबाट टाढिएको देखियो।’

यस्तै कतिपय आकांक्षीहरू आफूले उम्मेदवारी नपाउने बित्तिकै असझदारी, असहयोग र अन्तर्घातसम्म गर्ने र विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखिएको ओलीको प्रतिवेदनमा उल्लेख छ। ‘हिजोसम्म पार्टीको माथिल्लो ओहदामा रहेका कतिपय नेताहरू पार्टीविरुद्धको षड्यन्त्रमा संलग्न भए। पार्टीका स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्त्वपूर्ण उपलब्धि एवम् पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन सकेन।’

प्रायोजित, मिथ्या र भ्रामक सूचनाको बाढीलाई परास्त गर्न नसक्दा युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचमा पार्टीप्रतिका आकर्षण र जनाधार हुँदाहुँदै पनि नेकपा एमाले प्रतिनिधिसभामा पहिलो हुन सकेन।’

साधनस्रोतको चरम दुरुपयोग र ६ दलको गठबन्धन भएर पनि उनीहरू सामान्य बहुमत हासिल गर्न पनि असफल रहेको ओलीको समीक्षा छ।

उनले भनेका छन्, ‘गठबन्धनको बलमा पहिलो दल बने पनि नेपाली कांग्रेसको जनाधार विगतमा भन्दा झनै खस्किएको छ। एमालेले कांग्रेससँगको मतको दुरी २०७४ मा ४५ हजारको तुलनामा यस निर्वाचनमा १ लाख २५ हजार बढाएको छ।’

यसैगरी निर्वाचनमा पार्टीले चौतर्फी घेराबन्दी, षड्यन्त्र र आक्रमणको सामना गर्नुपरेको ओलीको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी ओलीले निर्वाचनमा प्रियतावादी (पपुलिस्ट) शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तारलाई नयाँ र विवेचनीय घटनाका रूपमा उल्लेख गरेका छन्।

‘युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचम पपुलिजमले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ।’ ओलीले गठबन्धनमा रहेका दलहरूका कारण राजनीतिक विकृति बढेको, सुशासन एवम् सेवा प्रवाहमा गम्भीर विचलन हुँदा समाजमा निराशा बढेको उल्लेख गरेका छन्।

ओलीले प्रियतावादी शक्तिलाई सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने भएकाले सही राजनीतिक विकल्प हुन नसक्ने दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =