प्रिमियर लिग : सोमबार तीन खेलमा २१ गोल

हिमाल प्रेस २६ वैशाख २०८० १०:५८
10
SHARES
प्रिमियर लिग : सोमबार तीन खेलमा २१ गोल

काठमाडौँ- ब्राइटनलाई पराजित गरेपछि एभरटन इंग्लिस प्रिमियर लिगको रेलिगसन क्षेत्रबाट बाहिर निस्किएको छ। सोमबार राति ब्राइटनको मैदानमा भएको खेलमा एभरटनले ५-१ को जित दर्ता गरेको हो। जितपछि एभरटन १७ औँ स्थानमा उक्लियो।

उता लेस्टर सिटीको रेलिगेसनबाट बच्ने लक्ष्यमा भने धक्का लागेको छ। फुलहमसँग ५-३ ले पराजित भएपछि लेस्टरको समस्या गहिरिएको हो। सोमबार नै भएको अर्को खेलमा नटिङहम फरेस्टले साउथह्याम्पटनमाथि ४-३ को विजय हासिल गर्‍यो। पुछारको साउथह्याम्पटनलाई हराएपछि फरेस्टले रेलिगेसन क्षेत्रसँगको दूरी तीन अंकमा पुर्‍यायो।

एभरटनसँग पराजित भएपनि ब्राइटन सातौँ स्थानमा यथावत् छ। यद्यपि यो फराकिलो हार ब्राइटनका लागि अनपेक्षित रह्यो। अर्को सिजन युरोपेली प्रतियोगिता खेल्ने लक्ष्य राखेको ब्राइटनविरुद्ध एभरटनका आब्दौलाये डेकुरेले ३४ सेकेन्डमै गोल गरेका थिए। काउन्टर अट्याकमा डोमिनिक काल्भर्ट लेविनले डेकुरेलाई पास उपलब्ध गराएका थिए।

पहिलो हाफको २९ औँ मिनेटमा डेकुरेले नै अग्रता दोब्बर बनाए। ड्वाइट म्याकनिलको क्रसमा डेकुरेले ‘भली’ प्रहार गर्दा गोल भएको थियो। म्याकनिलकै प्रहार ब्राइटनका जेसोन स्टिलको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भएपछि एभरटन ३-० ले अघि बढेको थियो।

दोस्रो हाफमा ब्राइटनले चार खेलाडी परिवर्तन गरेको थियो। तर एभरटनले फेरि काउन्टरमै गोल गर्‍यो। प्रभावकारी देखिएका एलेक्स इयोबीको सहयोगमा म्याकनिलले एभरटनको चौथो गोल गरे। ब्राइटनले ७९ औँ मिनेटमा गोल फर्कायो। एलेक्सिस म्याकअलिस्टरले ब्राइटनको पहिलो गोल गरेका थिए। तर म्याकनिले आतिरिक्त समयमा गोल थपेपछि एभरटनले गोल अन्तर फेरि बढायो।

एभरटनले अक्टोबरपछि पहिलो पटक ‘अवे’ खेल जितेको हो। अब एभरटन रेलिगेसन क्षेत्रभन्दा दुई अंकमाथि छ। ‘हामीले यो स्तरको प्रदर्शनलाई आगामी खेलमा पनि जारी राख्नुपर्छ। म चाहन्छु मेरा खेलाडीले टिममा स्थिरता ल्याउन्,’ एभरटनका प्रशिक्षक सन डाइचले भने।

मानसिक रुपमा कमजोर लेस्टर

लिगमा २१ औँ हार व्यहोरेको लेस्टरका प्रशिक्षक डिन स्मिथले आफ्ना खेलाडीले रेलिगेसनको दबाबले थिचिएको प्रतिक्रिया दिए। सन् २०१६ मा प्रिमियर लिग च्याम्पियन बनेको लेस्टर क्याराभन कटेजमा रक्षात्मक रुपमा कमजोर देखियो। लिड्स युनाइटेड र बर्नमाउथपछि सर्वाधिक बढी गोल खाएको लेस्टरविरुद्ध फुलहमले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।

घरेलु टिमका लागि विलियान, कार्लोस भिनिसियस र टम कार्नेले एक-एक गोल गरेका थिए। ‘पहिलो हाफमा तीन गोल खानु नै हारको मुख्य कारण रह्यो। सरासर तीन गोल खाएपछि दोस्रो हाफमा खेलमा फर्कन लगभग असम्भव थियो,’ स्मिथले भने, ‘कयौँ खेलाडी मानसिक रुपमा कजोर देखिएका छन्। सायद रेलिगेसनको दबाबले होला। उनीहरूलाई बलियो बनाउने काम प्रशिक्षण टिमको हो, हामी यो काम पक्कै गछौँ।’

दोस्रो हाफमा फुलहमले दुई गोल थपेको थियो। कार्नेले ५१ र विलियानले ७० औँ मिनेटम गोल गरेका थिए। चौथो गोल खाएको आठ मिनेटपछि लेस्टरले पहिलो गोल फर्काएको थियो। हार्भी बान्सले गोल अन्तर घटाएको सात मिनेटपछि जेमी भार्डीले पेनाल्टी खेर फाले।

८१ औँ मिनेटमा लेस्टरले फेरि पेनाल्टी पायो। यसपालि जेम्स म्याडिसनले पेनाल्टी प्रहार गरे र खेललाई ५-२ को स्थितिमा पुर्‍याए। निर्धारित समयमा बान्सले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले गोल अन्तर ५-३ मा ल्याइपुर्‍याएको थियो।

रेलिगेसन समीकरणका लागि महत्त्वपूर्ण मानिएको खेलमा फरेस्ट र साउथह्याम्पटनले कुल सात गोल गरे। घरेलु मैदानमा साउथह्याम्पटनविरुद्ध फरेस्ट टाइओ एवोन्यिीले १८ र २१ औँ मिनेटमा गोल गरेका थिए। कार्लोस अल्कारेजले २५ औँ मिनेटमा गोल गरेपछि साउथह्याम्पटनले खेलमा फर्कने संकेत गरेको थियो।

तर पहिलो हाफ नसकिँदै मोर्गान गिब्स व्हाइटले पेनाल्टी गोल गर्दा फरेस्ट ३-१ ले अघि बढ्यो। दोस्रो हाफको ५१ औँ मिनेटमा साउथह्याम्पटनले फेरि एक पटक गोल अन्तर घटायो। यसपालि साउथह्याम्पटनका लागि लियान्कोले गोल गरे। तर ७३ औँ मिनेटमा डानिलोले गोल गरेपछि फरेस्ट जितनजिक पुग्यो। साउथह्याम्पटनले थपिएको समयमा एक गोल त फर्कायो तर हार टार्न पर्याप्त रहेन। यो गोल जेम्स वार्ड प्राउजले पेनाल्टीमार्फत गरेका थिए।

‘आखिरमा हामीले जित हासिल गर्‍यौँ। अग्रपंक्तिका खेलाडीले देखाएको खेलले म प्रशन्न छु। हामीले निकै मौका सिर्जना गर्नसक्यौँ। ती मौका सदुपयोग पनि भए। तर रक्षापंक्तिमा भने हामी चुकेकै हो,’ फरेस्टलाई रेलिगेसन क्षेत्रबाट दुई अंकमाथि पुर्‍याएपछि प्रशिक्षक स्टिभ कुपरले भने।

प्रकाशित: २६ वैशाख २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =