शैक्षिक गुणस्तर सुधारका लागि सरकार प्रतिवद्ध छ : मन्त्री शर्मा

हिमाल प्रेस २५ वैशाख २०८० १८:२१
190
SHARES
शैक्षिक गुणस्तर सुधारका लागि सरकार प्रतिवद्ध छ : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका १४ ठैवस्थित फूल्चोकी माध्यामिक विद्यालयको ६४ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कति विद्यार्थीले कुन तह उत्तीर्ण गरे भन्दा पनि कति विद्यार्थीले शिक्षालाई जीवन र व्यवहारसँग जोडे भन्ने महात्वपूर्ण भएको बताएकी हुन्।

मन्त्री शर्माले नेपालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर छ भन्ने आम मान्यताजस्तो बन्न पुगेको विषयलाई सरकारले बदल्नेतर्फ ध्यान दिने बताइन्। उनले भनिन्, ‘कुनै बेला सामुदायिक विद्यालयमा दुःखी गरिवका छोराछोरीले मात्र पढ्छन् भनेर हेपिएको थियो तर विस्तारै सामुदायिक विद्यालयप्रति आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ।’

पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने प्रचलन विकास हुँदै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाहरूले यसमा अझै मेहनत गर्न आवश्यक रहेका बताइन्।

‘हामीले संविधानमै विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएका छौँ तर यसले अवसर र चुनौती दुुबै सिर्जना गरेको छ’, मन्त्री शर्माले भनिन्, ‘जुन पालिकाका जनप्रतिनिधि भिजनसहित आएका छन्। उनीहरूले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन्। सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ।’

शैक्षिण गुणस्तर बृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन्। सूचना प्रविधिको माध्यमबाट एक ठाउँमा रहेका विद्यार्थीले अर्को ठाउँका शिक्षकले पढाएको विषयवस्तुुबारे जान्न पाउने अवसर प्राप्त गर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक विद्यालयले सूचना प्रविधिलाई अनिवार्य प्रयोग गर्नसके शैक्षिक गुणस्तरमा सुधार आउने बताइन्।

विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि सबैलाई आग्रह गरिन्। ‘अहिले धेरै बालबालिका सूचना प्रविधिको लतमा लागेर पठनपाठनतिर ध्यान नदिने अवस्था पनि बनेको छ’,उनले भनिन्,‘त्यसका साथै सूचना प्रविधिलाई सही रुपमा प्रयोग नगर्दा हिंसाका घटना पनि बढेका छन्, यसतर्फ पनि शैक्षिक संस्था, शिक्षक, विद्यार्थी र अभिभावक सेचत हुनु आवश्यक छ।’

वामपन्थी नेता स्वर्गीय दिलबहादुर श्रेष्ठको अगुवाइमा विसं २०१६ सालमा स्थापित यस विद्यालयमा हाल कक्षा १२ सम्म १ हजार २५८ विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २५ वैशाख २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =