नक्कली शरणार्थी प्रकरण : प्रचण्ड-ओली भेटपछि गृहमन्त्री सशंकित

हिमाल प्रेस २१ वैशाख २०८० १८:१८
162
SHARES
नक्कली शरणार्थी प्रकरण : प्रचण्ड-ओली भेटपछि गृहमन्त्री सशंकित

काठमाडौँ- नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा थप ‘हाई प्रोफाइल’ मुछिने संकेत पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारी लिएका छन्। उक्त प्रकरणमा दुई अध्यक्षबीच छलफल भएपछि अनुसन्धान प्रक्रिया प्रभावित हुने भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री सशंकित भएका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको शंकामा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि अध्यक्ष ओलीले चासो दिएका हुन्। ओली बिहीबार प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए।

भेटमा ओलीले ‘रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण’ रहेको मात्रै बताएनन् यस्ता घटना उदांगो पार्दै जाँदा कोको केकेमा पर्ला भन्ने विषयमा हेक्का राख्न पनि प्रधानमन्त्रीलाई सचेत गराएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जानकारी दियो।

ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि बाटोबाटै समाउनु षड्यन्त्रपूर्ण रहेको बताएका थिए।  यसैगरी सचिव रायमाझीलाई उक्त प्रकरणमा आफैँ मुछिएका हुन् वा षड्यन्त्र गरिएको हो भन्ने बारेमा अध्ययन गरिरहेको ओलीको भनाइ थियो। उनले अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने भन्दै पार्टीगत रिसइबी साध्नका लागि ‘तानाबाना’ बुनिएको त हैन भनेर प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका थिए।

प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिएका ओलीले पत्रकारसँग भने दोषी उम्किन हुन नहुने बताए। उनले भने, ‘कुनै पनि बेला दोषी उम्किन नहुने र निर्दोष फस्न हुँदैन। फसाउने षड्यन्त्र भए सह्य हुँदैन।’

दुई शीर्ष नेताबीच छलफल भएपछि गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठ शरणार्थी प्रकरणमा दोषी देखिएकालाई उम्काउन खोजिएको त हैन भनेर निकटस्थहरूसँग परामर्शमा जुटेका छन्। तर गृहमन्त्री श्रेष्ठ यो प्रकरणलाई किनारा लगाएरै छाड्ने पक्षमा रहेको उनी निकट माओवादी नेताहरू बताउँछन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रशासक र नेताहरू तानिन थालेपछि केही नेताहरू भित्रभित्र बचाउमा सक्रिय रहेको गृहमन्त्रीको बुझाइ छ। उनी निकट एक नेताले भने, ‘कोभिडको समयका भएको ओम्नी प्रकरण, एयरबस खरिद प्रतिवेदनलगायतको स्मरण गराउने काम प्रेसको हो।’ उनले आफूले थालेको काम फत्ते गरेरै छाड्ने बताएका छन्।

शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तित्वहरू पनि मुछिन थालेपछि एमाले अध्यक्ष ओली आफूलाई पनि छुन सक्ने शंकामा हतारिएर प्रचण्डसँग छलफल गर्न पुगेको प्रचण्ड निकट स्रोतले बतायो।

तत्कालीन सहसचिव बालकृष्ण पन्थी संयोजकत्वमा रहेको समितिले भुटानी शरणार्थीसँग सम्बन्धित प्रतिवेदन तयार पारिएको थियो। त्यति बेला ओली नै प्रधानमन्त्री थिए। सोही प्रतिवेदनमा नक्कली शरणार्थी थपिएको हो।

त्यसैले ओलीले यस विषयलाई लिएर बाहिर एउटा कुरा गर्ने र भित्रभित्र गडबडी ढाकछोप गर्न खोजेको गृहमन्त्री श्रेष्ठको बुझाइ छ। श्रेष्ठलाई उधृत गर्दै माओवादीका एक नेताले भने, ‘अपराधी त अपराधी नै हुन्, सबैलाई उही कानुन लाग्छ। तर के बदमासी गरेको भन्ने थाहा पाएपछि कारबाही प्रक्रिया अघि बढ्नेछ।’

एमाले सचिव रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ। ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग सन्दीपको संलग्न रहेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतमा राखिएको छ।

सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसरले बुधबार पक्राउ गरेको थियो। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।

पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल सोही प्रकरणमा पक्राउ परिसकेका छन्। उनीहरूकै बयानका आधारमा राई र पाण्डे प्रक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका सबैविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान जारी रहेको जनाएको छ। इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न

नक्कली शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्छन् : एसएसपी कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =