धुम्बाराहीमा शेरबहादुर देउवा र जीवन परियारबीच चर्काचर्की

हिमाल प्रेस २१ वैशाख २०८० १५:५८
2.0k
SHARES
धुम्बाराहीमा शेरबहादुर देउवा र जीवन परियारबीच चर्काचर्की

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बिहीबार पार्टीको आन्तरिक र सरकारमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न पदाधिकारी बैठक बसेको थियो। बैठकको सुरुमै मन्त्रिपरिषद्‌ विस्तारबारे सभापति देउवालाई सहमहामन्त्री जीवन परियारले समावेशीको कुरामात्रै गर्ने कि त्यसलाई पालना गर्नुपर्दछ भनेर  प्रश्न सोधे।

लगत्तै देउवाले अर्कै दलको नेतृत्वमा सरकार भएको र अहिले समावेशिता मिलाउन सम्भव नभएको जवाफ फर्काए। ‘पार्टीले समावेशीको मुद्दा बोक्ने मात्रै कि दलित, मधेशी, उत्पीडनमा परेका क्षेत्रलाई नियामक क्षेत्रमा प्रतिनिधित्व गराउने? कांग्रेसले मन्त्रिपरिषद्‌मा यी समुदायका मान्छे किन पठाएन?,’ सहमहामन्त्री परियारलाई उधृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यसरी पार्टीले रुपान्तरणको राजनीति अघि लैजान सक्दैन। सभापतिज्यूको यो निर्णय र सिफारिसप्रति मेरो घोर आपत्ति छ।’

देउवाले अर्कोपटक कांग्रेसले एकल सरकार बनाउने र त्यही बेलामात्रै समावेशी हुने बताए। ‘अर्कोपटक बहुमत ल्याउने अनि समावेशी मन्त्रिपरिषद् बनाउने हो। अहिले सम्भव नै छैन। अर्कैको नेतृत्वमा सरकार छ। मागेको जति सबै पाइन्छ?’ देउवालाई उधृत गर्दै ती पदाधिकारीले भने, ‘आलोपालो सरकार बन्ने कुरा छ। त्यो बेलामा हेरौँला।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसले ८ मन्त्रालय पाएको छ। ८ वटै मन्त्रालयको नेतृत्वकर्ता दलित, पिछडा क्षेत्रका नेता तथा सांसद छैनन्। सहमहामन्त्री परियार हिजोमात्रै विस्तार भएको मन्त्रिपरिषद्‌मा मन्त्री हुने चर्चा थियो। वर्तमान मन्त्रिपरिषद्‌मा कांग्रेसको देउवा समूहका ६ र इतर समूहका २ जनामात्रै छन्। परियार इतर समूहका नेता हुन्।

प्रकाशित: २१ वैशाख २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =