सत्ता गठबन्धन निरन्तरताको ‘सेन्टर’मा माधव नेपाल

हिमाल प्रेस २२ वैशाख २०८० १०:५९
24
SHARES
सत्ता गठबन्धन निरन्तरताको ‘सेन्टर’मा माधव नेपाल

काठमाडौँ– सत्ता गठबन्धनको निरन्तरताको केन्द्र (सेन्टर) मा नेकपा एकीकृत समाजवादी देखा परेको छ। राजनीति र संसदीय अंकगणितका हिसाबले समाजवादी केन्द्र एवम् अध्यक्ष माधवकुमार नेपाल केन्द्रमा देखिएका हुन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फाइदा हेरेर वर्तमान गठबन्धनमा रहिरहन, अहिले रहेर बीचमा छाड्न र नछाड्न सबैका लागि तयार छ। यस्तोमा नेकपा एकीकृत समाजवादीले लिने निर्णयले नयाँ सत्ता समीकरण बन्छ वा बन्दैन भन्ने निर्क्योल हुनेछ।

राजनीतिशास्त्री लोकराज बराल पनि राजनीति र संसदीय अंकगणित दुवै दृष्टिमा एकीकृत स्माजवादीका अध्यक्ष माधव नेपाल सेन्टरमा रहेको बताउँछन्। उनी भन्छन्, ‘उपेन्द्र यादवले चुनाव जितेर आए। उनले वर्तमान गठबन्धनको निरन्तरताभन्दा आफ्नो फाइदा बढी हेर्छन्।’ उपेन्द्रले आफ्नो फाइदा बढी हेर्ने पछिल्लो आधार हो, चुनावको मुखैमा अहिलेकै गठबन्धन छाडेर एमालेसँग तालमेल गर्नु र उपचुनावमा फेरि सत्ता गठबन्धनको साथ लिएर संसद् प्रवेश गर्नु।

प्रतिनिधिसभामा कांग्रेसको ९८, एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२ र नेकपा एकीकृत समाजवादीको १० सिट छ। १० भन्दा कम सिट रहेका दल पनि छन्। सरकार बनाउन २७५ को बहुमत अर्थात् १३८ सिट आवश्यक पर्छ। कांग्रेस र माओवादी केन्द्र मिल्दा सरकार बनाउन आवश्यक संख्या पुग्दैन। कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँ हुँदा सरकार बनाउने संख्या पुर्‍याउन सहज हुन्छ। यसकारण एकीकृत समाजवादी अंकगणितका हिसाबले सेन्टरमा देखिन्छ।

माधव नेपालले वर्तमान सरकारसँगको सहकार्य नतोडेको अवस्थामा जसपासहितका साना दलसमेत वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा रहनेछन्। नयाँ समीकरण बने साना दल त्यसका निम्ति तयार रहने विश्लेषण गर्छन् विश्लेषक विष्णु दाहाल।

यसको उदाहरणका रूपमा उनी १० पुसमा एमालेको समर्थनमा बनेको सरकारमा एमाले बाहिरिएपछि पनि निरन्तर रहने साना दलहरूको व्यवहार देखाउँछन्। उनी भन्छन् ‘सरकारमा जो भए पनि रहने साना दलहरूको व्यवहार नौलो रहेन। विगतमा पनि थियो, अहिले पनि छ। कामना गरौँ, राजनीतिक सिद्धान्तका आधारमा गठबन्धन बनोस्।’

साना दलहरू जता सत्ता त्यतै हुने भएकाले पनि अध्यक्ष नेपालले लिने निर्णयले राजनीतिक कोर्स तय गर्ने दाहालको भनाइ छ। आफू सेन्टरमा रहेको बुझेरै माधव नेपालले त्यसअनुसार सत्ता साझेदारी र भगबण्डा खोजिरहेको उनले बताए। पछिल्लो समय माधव नेपालले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र लक्षित दिएका अभिव्यक्ति यसैको उदाहरण भएको उनको बुझाइ छ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउनुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबार कैलालीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको सुनाए। ‘हामीले त ल्याउनुपर्छ भनेका छौँ। शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु,’ उनले भने। सत्ता गठबन्धनको बुधबारको बैठकमा पनि त्यसबारे कुराकानी भएको उनले बताए।

यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारमा एकलौटी नगर्न चेतावनी दिएका छन्। कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको उनको गुनासो छ। सुर्खेतमा आायोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।

‘प्रचण्डजीलाई भन्न चाहन्छु, तपाईंहरूले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन,’ अध्यक्ष नेपालले भने। माओवादीको व्यवहार नसच्चिए वर्तमान सत्ता गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने पनि उनको चेतावनी छ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौँ, टिकाउँछौँ भनिरहेका छौँ। टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौँ,’ उनले भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौँ।’

प्रकाशित: २२ वैशाख २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =