गठबन्धनका दलबाट कुठाराघात भयो : एकीकृत समाजवादी

हिमाल प्रेस ५ वैशाख २०८१ १८:११
86
SHARES
गठबन्धनका दलबाट कुठाराघात भयो : एकीकृत समाजवादी नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले गठबन्धनका मुख्य राजनीतिक शक्तिहरूले विश्वासमाथि कुठराघात गरेको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सञ्चारकर्मीसँग भने, ‘हिजोसम्म हामीले सहकार्यमा विश्वासको आदानप्रदान गरौँ भनेर दौडिरहेका थियौँ। गठबन्धनका शक्तिहरूले कुठाराघात गरिरहेका छन्।’

गठबन्धका दलका नेताहरूले जस्तो व्यवहार गर्छन् आफूहरूले त्यस्तै उत्तर दिने पनि खतिवडाले बताए। उनले भने, ‘जति माया र विश्वास गर्नुहुन्छ, त्यति नै माया र विश्वास गर्छौँ।’ उनले विगतमा धेरै सहमति भएर उल्लंघन भएको सुनाउँदै कागजमा के लेखिएको छ भन्ने कुरा ठूलो नभएको बताए। उनले भने, ‘एकीकृत समाजवादीले के गर्छ भन्ने कुराचाहिँ ठूलो हो।’

प्रवक्ता खतिवडाले सत्ता गठबन्धनमा आफ्नो पार्टीले बार्गेनिङ नगरेको स्पष्ट पारे। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समीकरण बनाएका हुन्’, उनले भने। साथै खतिवडाले ओलीले समाजवादीलाई हजारौँपटक आलोचना र गाली गरेकाले हिसाब गरेर बस्न नसकिने बताए।

बैठकले जेठमा गर्ने भनिएको पार्टीको १० औँ महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ। खतिवडाले भने, ‘जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौँमा गर्ने निर्णय भएको छ।’ आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशन सार्ने निर्णय गरेको खतिवडाले जानकारी दिए।

बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =