किन पीएसजीको निलम्बनमा पर्दैछन् मेस्सी?

हिमाल प्रेस २० वैशाख २०८० १३:५२
14
SHARES
किन पीएसजीको निलम्बनमा पर्दैछन् मेस्सी?

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनल मेस्सीलाई निलम्बन गर्ने भएको छ। फ्रान्सेली समाचार एजेन्सी एएफपीले स्रोतलाई उदृत गर्दैै पीएसजीले मेस्सीलाई ‘कयौँ दिन’ का लागि निलम्बन गर्न लागिएको दाबी गरेको छ।

मेस्सी ठ्याक्कै कहिलेदेखि र कति समयका लागि निलम्बनमा पर्न लागेका हुन्, प्रस्ट छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मेस्सीबारे विभिन्न प्रकारका खबर आइरहे पनि पीएसजीले केही प्रतिक्रिया दिएको छैन।

यद्यपि फ्रान्सकै अखबार एल एक्यिुपले मेस्सी मंगलबारबाट दुई साताका लागि निलम्बनमा परेको लेखेको छ। रोयटर्सले एल एक्यिुपलाई उदृत गर्दै लेखेको समाचारमा मेस्सी निलम्बनका बेला पीएसजीको टिमसँग अभ्यास पनि गर्न नपाउने उल्लेख छ। यति मात्र होइन, पीएसजीले मेस्सीलाई अर्को सिजन क्लबमा नराख्ने निर्णय पनि गरेको छ।

मेस्सी अगस्ट, २०२१ मा बार्सिलोनाबाट पीएसजी सरेका थिए। त्यसबेला उनी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको थियो। आपसी सहमतिमा थप एक वर्षका लागि सम्झौता स्वतः नवीकरण हुने व्यवस्था पनि गरिएको थियो। अब भने पीएसजीले यो विकल्पको प्रयोग नगर्ने भएको हो।

निलम्बन किन?
फ्रान्सेली लिग वानमा पीएसजी गत आइतबार राति घरेलु मैदानमै लोरियन्टसँग ३-१ ले पराजित भएको थियो। पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले सबै खेलाडीलाई सोमबार अभ्यासमा उपस्थित हुन भनेका थिए। उनीहरुलाई मंगलबार भने बिदा दिइने जानकारी दिइएको थियो।

तर मेस्सी सोमबारको अभ्यासमा सहभागी भएनन्। उनी बुधबारसमेत अभ्यासमा उपस्थित नहुनेगरी साउदी अरब हानिएका हुन्। विश्वकप २०२२ विजेता मेस्सीले अभ्यासमा उपस्थित नहुन पीएसजीबाट अनुमति लिए कि लिएनन् भन्ने प्रस्ट छैन। अमेरिकी समाचार एजेन्सी एपीले भने मेस्सीले साउदी भ्रमणका लागि अनुमति नपाएको दाबी गरेको छ।

पीएसजीको स्वामित्व कतारको ‘कतार स्पोर्ट्स इन्भेस्टमेन्ट’सँग छ। कतार स्पोर्ट्स इन्भेस्टमेन्ट कतारी सरकारको कोषबाट सञ्चालित संस्था हो। खाडीको राजनीतिमा कतार र साउदी प्रतिद्वन्द्वी हुन्। यसकारण मेस्सी क्लबको अभ्यास छाडेर साउदी जाँदा पीएसजी प्रशासन चिढिएको अनुमान छ।

मेस्सी किन साउदी गए?
पीएसजीसँग आबद्ध भएको एक वर्ष पनि नबित्दै मेस्सी साउदी अरब सरकारको पयर्टन दूत बनेका थिए। मे, २०२२ मा उनलाई साउदीको जेद्दा सहरमा नयाँ दूतका रुपमा सार्वजनिक गरिएको थियो। ‘भिजिट साउदी’ का नयाँ दूत मेस्सीलाई लिन साउदीका पर्यटन मन्त्री आफैँ विमानस्थल पुगेका थिए।

‘मेस्सी साउदी पहिलो पटक आएका होइनन्। न त उनको यो भ्रमण अन्तिम नै हो,’ पयर्टन मन्त्री एहमद अल खातिबले त्यतिबेला भनेका थिए। मेस्सी यो वर्ष (२०२३) मा तेस्रो पटक साउदी पुगेका हुन्। गत जनवरीमा उनी साउदी लिग खेल्ने रोनाल्डोसम्मिलित टिमसँग मैत्रीपूर्ण खेल खेल्न पीएसजीसँग रियाद गएका थिए।

मानवअधिकारका विषयमा पटक पटक आलोचित हुँदै आएको साउदी खेलमार्फत आफ्नो छवि सुधारमा लागेको छ। इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडको स्वामित्व लिएको साउदीले केही समयअघि क्रिस्टियानो रोनाल्डोलाई घरेलु फुटबलमा स्वागत गरेको थियो। रोनाल्डो साउदी पुग्नु ६ महिनाअघि नै मेस्सीलाई दूत बनाइसकिएको थियो।

बार्सिलोनाबाट लामो समय खेलेका मेस्सीलाई दूत बनाएपछि विश्वभर आफ्नो छवि सफा हुने साउदीको आकलन छ। पेट्रोलियम पदार्थको व्यापार आम्दानीको मुख्य स्रोत रहेको साउदी पछिल्लो समय आम्दानीका स्रोत थप गर्ने अभियानमा छ।

यस्तोमा साउदी पयर्टन क्षेत्र विस्तारमा लागेको हो। यो अभियानलाई सफल बनाउनै सात पटकका बालोन डोर विजेता मेस्सीलाई दूत बनाइएको हो। साउदी पर्यटन मन्त्रालयले मेस्सीलाई दूत बनाएवापत कति पैसा तिर्छ, केही खुलाइएको छ्रैन। सम्झौता अनुसार मेस्सी बोलाइएको बेला साउदी पुग्नैपर्छ।

उसै पनि मेस्सीसँग पीएसजी समर्थक सन्तुष्ट छैनन्। यसको कारण हो, मेस्सीले अपेक्षाकृत प्रदर्शन गर्न नसक्नु। लोरियन्टसँगको खेल दौरान मेस्सीविरुद्ध पीएसजी समर्थकले हुटिङ पनि गरेका थिए। टिमलाई आवश्यकता थिए कि थिएनन् भनेर ध्यान नदिई फगत सुपर स्टार भएकै कारण मेस्सीलाई अनुबन्ध गरिएको उनीहरुको भनाइ छ।

मेस्सीले यो सिजन पीएसजीमा सबैखाले प्रतियोगितामा गरी २० गोल गरेका छन् भने १५ गोलका लागि पास उपलब्ध गराएका छन्। यो वर्ष उनले लिगमा सात गोल मात्र गर्न सकेका छन्। अर्जेन्टिनालाई विश्वकप जिताउँदा गरेको प्रदर्शन मेस्सीले पीएसजीमा पनि दोहोर्‍याउने आशा थियो। तर उनको प्रदर्शन खस्किएको छ। उसो त समग्र पीएसजी टिमकै प्रदर्शन अस्थिर छ।

लिगमा पाँच खेल मात्र बाँकी रहँदा पीएसजी दोस्रो स्थानको मार्सेभन्दा पाँच अंकले माथि छ। ११ औँ पटक फ्रेन्च लिग जित्ने लक्ष्यमा अघि बढे पनि पीएसजीको समग्र प्रदर्शन चित्तबुझ्दो रहन सकेको छैन। पीएसजीले अपेक्षा गरे अनुसारको खेल देखाउन नसक्नुका एक कारण मेस्सीको ‘औसत लय’ लाई पनि मानिएको छ।

प्रकाशित: २० वैशाख २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =