जितका बाबजुद मेस्सीकाे आराेप : रेफ्री अर्जेन्टिनाविरुद्ध लागे

हिमाल प्रेस २४ मंसिर २०७९ ११:०१
60
SHARES
जितका बाबजुद मेस्सीकाे आराेप : रेफ्री अर्जेन्टिनाविरुद्ध लागे

काठमाडौँ- विश्वकप क्‍वार्टरफाइनलमा जित हासिल गरेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सो खेल खेलाएका रेफ्री माट्यु लाहोजको आलोचना गरेका छन्। लाहोजले शुक्रबार राति खेलाएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्समाथि ४–३ को जित दर्ता गरेको थियो।

लुसेल रंगशालामा अर्जेन्टिना र नेदरल्यान्ड्सले निर्धारित समयमा दुई–दुई गोल गरेका थिए। त्यसपछि थपिएको आतिरिक्त आधा घण्टाभित्र गोल नभएपछि सेमिफाइनल पुग्ने टिमको निक्र्योल पेनाल्टीमा भएको थियो। नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्गिउइसका प्रहार अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले बचाएका थिए।

अर्जेन्टिनाको चौथो पेनाल्टी इन्जो फर्नान्डेजले खेर फाले पनि पाँचौँ प्रहारकर्ता लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको थियो।

अर्जेन्टिनाले ३५ र ७३ औँ मिनेटमा गोल गरेको थियो। पहिलो गोल फुलब्याक नाहुएल मोलिनाले कप्तान मेस्सीको असिस्टमा गरेका थिए। दोस्रो हाफमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेर अग्रता दोब्बर बनाए।

अर्जेन्टिना जिततर्फ अग्रसर भइरहँदा नेदरल्यान्ड्स एकाएक खेलमा फर्किएको थियो। मेम्पिस डिपेलाई ७८ औँ मिनेटमा प्रतिस्थापन गरेका वाउट वेग्रोस्टले ८३ औँ मिनेटमा नेदरल्यान्ड्सको गोलको खाता खोल्न सफल भए। ९० मिनेट सकिएपछि रेफ्रीले १० मिनेट समय थपेपछि वेग्रोस्टले बराबरी गोल गर्न सके। थपिएको १० मिनेटमा मेस्सीले असन्तुष्टि जाहेर गरेका हुन्।

‘नेदरल्यान्ड्सले बराबरी गोल गरेपछि मलाई असाध्यै रिस उठ्यो। हो हामीले राम्रो खेल्न सकेनौँ। तर यो खेल रेफ्रीले आतिरिक्त समयमा पुर्‍याउनु हुँदैन थियो। उनी हामीविरुद्ध लागे। यो प्रस्ट देखियो। यस्तो महत्त्वपूर्ण खेल खेलाउने रेफ्री छान्दा फिफा गम्भीर हुनुपर्छ,’ मेस्सीले भनेका छन्।

स्पेनका रेफ्री लाहोजले १६ वटा पहेलो कार्ड देखाएका थिए। उनले नेदरल्यान्ड्सका फुलब्याक डेन्जेल डमफ्रिजलाई त दोहोरो पहेलो कार्ड देखाएका थिए।

‘हामी खेल पेनाल्टी वा आतिरिक्त समयमा गएको हेर्न चाहँदैन थियौँ। तर रेफ्रीको गलत निर्णयका कारण हामीले पीडा भोग्नुप¥यो। तर आखिरमा हामी सेमिफाइनलमा पुग्यौँ। योभन्दा खुसीको कुरा अर्को छैन,’ मेस्सीले भने।

प्रकाशित: २४ मंसिर २०७९ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =