अयोग्य लडाकुलाई एक अर्ब दिँदैमा राज्य कंगाल हुँदैन : देवेन्द्र पौडेल

हिमाल प्रेस १८ वैशाख २०८० १२:२३
4
SHARES
अयोग्य लडाकुलाई एक अर्ब दिँदैमा राज्य कंगाल हुँदैन : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई चाँडो दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन्। सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको २ लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने उनले बताएका हुन्।

उनले सो निर्णय यसअघिकै सरकारहरूले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आयोग्य लडाकुहरूलाई २ लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने र सो रकम राज्यले व्यहोर्न सक्ने पनि बताए।

‘बहिर्गमित लडाकुहरूले ल्याएको प्रणालीमा रसस्वादन गर्न कसैले छेकेन। अनि उनीहरूलाई राज्यले अलिअलि सम्झिँदाखेरी कर्मचारी, शिक्षक, प्रहरीको कुरा तेस्र्याउन आवश्यक छ र?,’ उनले भने, ‘कर्मचारी, प्रहरी, शिक्षकले तलब पाउनुपर्छ। राज्यले दिन्न कहीँ भनेको छैन।’

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए। सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने बताए।

‘एक अर्ब कुनै ठूलो रकम होइन । त्यो एक अर्ब रकम देश र जनताको पक्षमा हिजो हिँडेकाहरू जसको टाउकोमा अहिले पनि गोली छ, जसको छातीका दुईवटा करङ भाँचिएका छन्,’ उनले भने, ‘त्यसप्रकारका व्यक्तित्वहरूलाई राज्यले सम्झिँदा देश कंगाल बन्छ, भयानक ठूलो धनराशी खर्च भएर बर्बाद भयो भन्ने गरी कोकोहोलो गर्न खोजिँदैछ त्यो भनेको अपमान हो।’

उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए।

प्रकाशित: १८ वैशाख २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =